सर्लाही l सर्लाहीमा जेसिबीको बकेटले हानेर एक वडाध्यक्षको हत्या भएको छ। ईश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
ईश्वरपुर नगरपालिका वडा नम्बर ३ मै रहेको मुखलाल दास पोखरीको सौन्दर्यीकरण कार्यको निरीक्षण गर्न गएका बेला वडाध्यक्ष श्रेष्ठको हत्या भएको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज देवकोटाले जानकारी दिए।
नगरपालिकाको तर्फबाट भइरहेको पोखरी सौन्दर्यीकरणको निरीक्षणका लागि वडाध्यक्ष श्रेष्ठ निर्माण व्यवसयाी प्रेमराज दाहालसँगै पुगेका थिए।
पोखरी निरीक्षणका लागि जानुअघि वडाध्यक्ष श्रेष्ठ, व्यवसायी दाहाल र जेसिभीका चालक रविन भनिने हर्कबहादुर तामाङबीच खाजा खाने क्रममा भनाभन सुरु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।
उनका अनुसार विवादकाबीच खाजा खाएर पोखरीसम्म जाने क्रममा वडाध्यक्ष श्रेष्ठले चालक तामाङलाई चप्पलले हिर्काएका थिए।
त्यसपछि तामाङले जेसिभी स्टार्ट गरेर श्रेष्ठमाथि बकेटले प्रहार गरेको कुँवरले बताए।घटनापछि ठेकेदार दाहाललाई राति नै पक्राउ गरिएको र आज बिहान चालकलाई पनि पक्राउ गरिएको कुँवरले बताए ।
वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका जिल्ला अस्पतालमा राखिएको प्रवक्ता कुँवरले जानकारी दिए।