काठमाडौं l सर्वोच्च अदालतको २० मन्त्री पदमुक्त गर्ने फैसलापछि जनता समाजवादी पार्टी (जसपा) विवाद नयाँ मोडमा पुगेको छ। पार्टी नै विभाजन गरेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गएको अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरूको मन्त्री पद गुमेपछि विवादमा नयाँ मोड देखिएको हो।
सत्ता समीकरणमा देखिएको विवादका कारण कानुनी रुपमा मात्रै विभाजन हुन बाँकी रहेको जनता समाजवादी पार्टी(जसपा)मा नेताहरुले गुट परिवर्तन गर्नेक्रम तिव्र बनेको छ । अध्यक्ष महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने भएपछि अर्का अध्यक्ष उपेन्द्र यादव समूहका ५ निवर्तमान सांसद कित्ता परिवर्तन गरेका थिए । अहिले सर्वोच्चको अन्तरिम आदेशका कारण सरकारबाट बाहिरिन परेपछि पुनः ८ निवर्तमान सांसदले ठाकुरको साथ छोडेका छन् ।
जसपामा ठाकुर समूहले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई समर्थन गर्दै सरकारमा सहभागी भएको थियो । यादव समूह भने प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहितका दलहरुको विपक्षी गठबन्धनमा सहभागी भएको छ । ठाकुर समूह सरकारमा जाने भएपछि यादव समूहका ५ जना सांसदहरू वीमल श्रीवास्तव, उमाशंकर अरगरैया, रुही नाथ, कल्लुदेवी विश्वकर्मा, रेणुका गुरूङ कित्ता परिवर्तन गरेका थिए ।
अहिले सत्ताबाट बाहिरिएपछि फेरि ठाकुर समूहका राजकिशोर यादव, विमल श्रीवास्तव, प्रमोद साह, नरमाया ढकाल, रुही नाथ, दुलारी देवी खतवे, अमृता अग्रहरी, रानी मण्डलले कित्ता परिवर्तन गरेका छन् । सर्वोच्चको मंगलबारको अन्तरिम आदेशका कारण सरकारबाट बाहिरिन परेपछि त्यसबारे समीक्षा ठर्न ठाकुरले बिहीबार आफ्नो समूहका निवर्तमान सांसदहरुको बैठक बोलाएका थिए । त्यो बैठकमा ८ सांसद अनुपस्थित रहेपछि बैठकलाई औपचारिकता नै नदिएर सकिएको थियो । निवर्तमान सांसद लक्ष्मणलाल कर्णले केही सांसदहरु अनुपस्थित भएपछि बैठक औपचारिकतामा प्रवेशै नगरेको बताए ।
बैठकमा आधाजसो निवर्तमान सांसद अनुपस्थित भए । अनुपस्थित भएकामध्ये आधाभन्दा बढी काठमाडौंमै थिए । कोहीले काठमाडौं बाहिर भएको कारण देखाउँदै बैठकमा जान नसकेको बताए । जसपाको संसदीय दलमा ठाकुर पक्षका २० र उपेन्द्र यादव पक्षका १२ जना सांसद छन । आफूहरु काठमाडौंमै भएर पनि ठाकुरले बोलाएको बैठकमा नगएको निवर्तमान सांसदद्वय प्रमोद साह र श्रीवास्तव जानकारी दिए ।
गत वैशाख ३१ गते ठाकुर र महतोले भक्तपुरको डोलेश्वरमा आफूनिकट सांसदहरूको बैठक बोलाएका थिए । उक्त बैठकमा सहभागी भएकाहरू पनि बिहीबार बोलाइएको बैठकमा गएनन् । ओली सरकारमा ठाकुर पक्षका ११ जना नेता सरकारमा सहभागी भएका थिए । तर तीमध्ये १० जना नेता १९ दिनपछि र एक जना राजकिशोर यादव १३ दिनपछि सर्वोच्च अदालतको फैसलाको कारण सरकारबाट बाहिरिए । अनौपचारिक बैठकमा निर्वाचन आयोगले ठाकुर पक्षलाई बोलाएको १५ दिने सूचना तथा यादव समूहले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा गराएको चिठीको बारेमा छलफल भएको थियो ।