काठमाडौं । जेठमसान्तसम्म ४२ अर्ब ३४ करोडको भटमासको तेल निर्यात भएको देखिन्छ । जसले नै सरकारको ११ वर्ष अघि १ खर्बको निर्यात गर्ने लक्ष्यलाई पुरा गरिदिएको छ । तर, यहि तेल निर्यात गर्नका लागि विदेशबाट भटमासको ४५ अर्ब ५९ करोडको भटमासको कच्चा तेलको आयात भएको छ ।
विदेशबाट कच्चा पदार्थ आयात गरि यहाँ उत्पादन गरि बाहिर पठाउने भटमासको तेलले देशलाई खासै लाभ दिन सकेको छैन । नत यसले ठूलो मात्रामा रोजगारी नै सिर्जना गर्न सकेको छ ।
बिदेशबाट भटमासको गेडा मात्रै नभई तेल नै आयात गर्ने गरिएको छ । कच्चा तेललाई यहाँ केहि प्रशोधन गरेर भारत पठाउने गरिएको छ ।
भारतले नेपाल बाहेक अन्य मुलुकबाट आउने कृषिजन्य बस्तुमा ४० प्रतिशत कर लगाउँछ । नेपाली ब्यापारीले यसकै फाइदा उठाएर लामो समय देखि भटमासको तेल निर्यात गरेका छन् ।
यसअघि पाल्म तेल निर्यात गर्न पल्केका व्यवसायी भारत सरकारले पाल्म तेलमाथि प्रतिवन्ध लगाएसँगै अहिले भटमासको तेलमा सरेका छन् ।
पूर्व बाािण्ज्य सचिव पुरुषोत्तम ओझा भन्छन् ‘ बाहिरबाट आएको कच्चा पदार्थमा आधारित भटमासको तेल निर्यात गरेर निर्यात बढ्यो भन्नु राम्रो होइन, किनभने यो दिर्घकालसम्म टिक्न सक्दैन र राज्यले यसबाट ठूलो लाभ पनि लिउन सक्दैन ।
राष्ट्रिय योजना आयोगले तयार पारेको त्रिवर्षिय योजना २०६७÷०६८ मा निर्यात ब्यापारलाई १ खर्ब पु¥याउने भनिएको थियो । त्यसको १० वर्षपछि बल्ल सरकारले यस्तो निर्यातको लक्ष्य भेटेको छ । तर, लक्ष्य भेट्दा पनि निर्यात भने आयातित कच्चा पदार्थ प्रशोधन गरेर भारत पठाउँदा बढेको देखिन्छ । भन्सार विभागका अनुसार यो वर्षको जेठ मसान्तसम्म देशबाट १ खर्ब २१ अर्बको निर्यात भएको छ ।
गत वर्षको जेठ मसान्तसम्म ८८ अर्बको निर्यात भएकोमा यो वर्षको सोहि अवधिमा यस्तो निर्यात ३७ दशमलव सात आठ प्रतिशतले बृद्धि भएको छ । तर निर्यातको ३५ प्रतिशत हिस्सा भने बिदेशबाट कच्चा तेल आयात गरेर भारत निर्यात गरिएको भटमासको तेलले ओगटेको छ ।
महामारीका बिचमा पनि बढ्दो आयातका कारण भन्सार विभागलाई राजस्व संकलनमा भने सहज भएको छ ।
यो वर्ष भटमासको तेलसँगै डिजल, मोबाइल फोन चामल र पोलिथिन दानाको आयात बढेको छ । डिजलको आयात १ सय ५७ प्रतिशत, मोबाइल फोनको १ सय १६ प्रतिशत, एमएस ब्लेड ७० प्रतिशतले बृद्धि भएको छ ।
निर्यातमा भने भटमासको तेलबाहेक अन्य बस्तुको भने खासै बृद्धि भएको छैन । अलैची ९६ करोड, गलैचा ४५ करोड, तयारी कपडा २९ करोड र चिया ३२ करोडले निर्यात बढेको छ । यहिको कच्चा पदार्थ प्रयोग गरि उत्पादन भएका बस्तुको साटो बाहिरबाट कच्चा पदार्थ आयात गरि उत्पादन गरिएको भटमासको तेलबाट निर्यात बढेकाले यसलाई सकारात्मक रुपमा लिन नहुने बिज्ञको तर्क छ ।
यो वर्षको जेठसम्म २५ दशमलव छ सात अंकले आयात बढ्दा ब्यापार घाटा पनि १२ खर्ब ६२ अर्ब पुगेको छ । यहि उत्पादित बस्तुको आधारमा उत्पादित बस्तुको निर्यात गर्न नसकेसम्म दिगो रुपमा ब्यापार घाटा कम गर्न सकिदैन ।
विभागले जेठ मसान्तसम्म ४ खर्ब ३ अर्ब लक्ष्य राखेकामा भन्सार महसुल ९९ दशमलव ६३ प्रतिशत अर्थात ४ खर्ब १ अर्ब उठाएको छ ।