बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट छैठौं समूहको एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष उद्घाटन

बुधबार, असार ९ २०७८

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालन हुने छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा एक समारोहका बीच उद्घाटन गर्नुभयो ।
त्यसअवसरमा महानिरीक्षक खनालले संगठनमा आवद्ध अधिकृतको नेतृत्व क्षमता र दक्षता विकास गरी जनशक्ति विकासमा गुणात्मक फड्को मार्ने उद्देश्यकासाथ सुरु गरिएको यस कोर्षले विभिन्न समयमा आईपर्न सक्ने सुरक्षा चुनौतीलाई समेत विश्लेषण गरेर योजनाबद्ध रुपमा व्यवसायिक कार्यसम्पादन गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 
उहाँले राष्ट्र र नागरिकले चाहे जस्तो सेवा प्रवाहमा उक्त कोर्ष गरेका अधिकृतहरुले कार्यक्षेत्रमा खटिई उल्लेख्य योगदान पु-याउँदै आईरहेको उल्लेख गर्नुहुँदै सम्माननीय प्रधानमन्त्रीज्यूको ‘समृद्ध नेपाल सुखी नेपाली’को महान अभियान साकारपार्न सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा, शान्ति सुरक्षा, विपद् प्रकोप नागरिकहरुको सेवा, सुरक्षा र उद्वारकासाथै राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा गर्दै सक्षमताकासाथ शान्ति सुरक्षाको माध्यमबाट बिकासको वातावरण निर्माण गर्ने कार्यमा आफ्नो ठाउँबाट योगदान पु-याई रहेको तथा त्यसका लागि संगठनलाई आजको यस उचाईसम्म पु-याउन योगदान पु-याउनुहुने संगठनका अग्रजहरुको योगदानको समेत स्मरण गर्नुभयो  ।

5-1.JPG

 

एपीएफ अधिकृतहरुलाई ईमान्दार, नैतीकवान, कर्तव्यनिष्ठ बनाई सांगठानिक बिकासमा योगदान पु-याउन सक्ने गरी पूर्ण व्यवसायिक बनाउन यस कोर्षले यथेष्ट ज्ञान प्रदान गर्ने चर्चा गर्नुहुँदै महानिरीक्षक खनालले व्यक्तिको व्यक्तित्व बिकास तथा बृत्तिबिकासमा समेत यस्ता कोर्षले महत्वपूर्ण सहयोग पु-याउने उल्लेख गर्नुभयो ।
उहाँले ज्ञान आर्जन गर्ने कार्य जीवन प्रयन्त चलिरहने विषय भएको चर्चा गनुहुँदै यस्ता उच्च शिक्षा आर्जन गर्नेतर्फ अध्ययनशिल र अझैंबढी मेहनती भई लाग्न प्रशिक्षार्थी अधिकृतहरुलाई निर्देशन दिनुहुँदै उच्च शिक्षाले सुशासनको आधारभूत जग निर्माण गर्ने समेत बताउनुभयो ।

1-2.JPG

महानिरीक्षक खनालले उक्त कोर्ष स्तरीय रुपमा निरन्तर संचालन गर्नका लागि विशिष्ट सहयोग पु-याएकोेमा त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न निकायबाट प्राप्त सल्लाह, सुझाव र सहयोगप्रति आभार प्रकट गर्नुभयो । समारोहमा त्रिभुवन विश्वविद्यालय मानवीकी तथा सामाजिक शास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले अन्तर्राष्ट्रिय स्तरको एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष संचालनमा सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदाको खुशी व्यक्त गर्नुहुँदै सो कलेजबाट दिक्षित सशस्त्र प्रहरी अधिकृतहरुले सांगठानिक बिकासकासाथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो दक्षता प्रदर्शन गरी सुरक्षा तथा विकासमा महत्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गर्नुभयो ।

4-1.JPG

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती  तथा सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र बिकास, चुस्त तथा व्यवस्थित रुपमा फौजको परिचालन, सीमा भन्सार तथा औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापन लगायत सुरक्षा, विकास र शान्ति लगायतका विविध विषयहरु एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा समेटिएको कुरा सो समारोहमा जानकारी गराइएको थियो । एपीएफ कमाण्ड तथा स्टाफ कलेज २०७१ साल फागुन २० गते स्थापना भएको हो भने उक्त कोर्ष त्रिभुवन विश्वविद्यालय मानवीकी तथा सामाजिक शास्त्र संकायमा सुरक्षा, बिकास र शान्ति अध्ययनमा स्नातकोत्तर डिग्री रहेको छ ।  

3-2.JPG

एक वर्ष ६ महिना अवधिको उक्त कोर्षमा कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दुई जना र सशस्त्र प्रहरी नायव उपरीक्षक आठ जना गरी १० जना अधिकृतहरुको सहभागीता रहेको छ ।  समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा सहप्राध्यापक, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका शैक्षिक कार्यक्रम संयोजक लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।