बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सरकारको १२ कार्यक्रम जस्ले लोकप्रिय बन्यो बजेट !

आइतबार, जेष्ठ १६ २०७८

काठमाडौं l हाल सम्पूर्ण विश्व स्वास्थ्य संकटबाट गुज्री रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यस्तो जटिल परिस्थितिलाई चिर्दै आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि  सर्वाधिका लोकप्रिय बजेट प्रस्तुत गरेको छ l

शनिवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै लोकप्रिय कार्यक्रमहरु घोषणा गरेका छन् ।सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ ।आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी, निजी र सहकारीका भावनमा सञ्चालन भएका उद्योगहरुले निषेधाज्ञा समयअवधिभर ५० प्रतिशत भाडा छुट पाउने जानकारी दिए ।

त्यस्तै सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार रुपैयाँ पुर्‍याएकाे छ । अहिलेको पारिश्रमिक बढाएर मासिक आठ हजार पुर्‍याइएकाे र सम्बन्धित पालिकाले थप गरेर न्यूनतम १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको अर्थ मन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहेका छन । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।

संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।त्यस्तै सरकारले वृद्धभत्ता चार हजार पुर्याएको छ। शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले वृद्धभत्ताका लागि एक खर्ब बजेट विनियोजन गरेका हुन्।

साथै दुई हजार रुपैयाँ बढाएर वृद्ध भत्ता चार हजार रुपैयाँ पुर्याइएको हो सरकारले वृद्धभत्तामा ३३ प्रतिशत बजेट वृद्धि गरेको हो।यस्तै, सरकारले सामाजिक सुरक्षा भत्ता पनि बढाएको छ। ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको छ।

यस्ता छन् १२ लोकप्रिय कार्यक्रम :-

१. ज्येष्ठ नागरिक भत्ता वृद्धि- मासिक ४ हजार रुपैयाँ ।

२. आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने ।

३. शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने, ब्याजदर ५ प्रतिशत ।

४. लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन बजेट विनियोजन ।

५. तरकारी, दूध र माछा-मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने ।

६. विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र सिम कार्ड निःशुल्क दिने ।

७. निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट ।

८. तीन वर्षभित्र रासायनिक मल कारखाना स्थापनाका लागि काम सुरु गरिने ।

९. निषेधाज्ञामा खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट ।

१०. गरिबी निवारण कोष खारेज ।

११. स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा ।

१२. पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार, ७ लाखको दुर्घटना बीमा ।