बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

गोलीले नलडेकी पूर्वरानी कोमललाई कोरोनाले भेन्टिलेटर देखायो पूर्वराजा ज्ञानेन्द्र अक्सिजनको सपोर्टमा, छोरी अस्पताल आइशोलेशनमा

बुधबार, बैशाख २२ २०७८

काठमाडौं । दरबार हत्याकाण्डका बखत गोली लागेकी पूर्वरानी कोमल शाह यतिबेला नर्भिक अस्पतालको आइसीयूमा छिन्। कोरोना भाइरसको संक्रमणका कारण भेन्टिलेटरमा समेत राख्नुपरेको उनको स्वास्थ्यलाई लिएर निर्मलनिवास चिन्तित रहेको थियो।
अस्पतालले अहिले उनको अवस्थामा सुधार आएको बताए पनि निर्मलनिवास ढुक्क छैन। विभिन्न रोगले ग्रसित हुनुका साथै दरबार हत्याकाण्डका बेला लागेको गोली उनको शरिरभित्र छ र त्यसले बेलामौका सताउने गरेको स्रोतको दाबी छ। 
‘एउटा समस्या थियो। अन्यलाई कठिन नभए पनि महारानीको स्वास्थ्य जटिल हुन्छ कि भन्ने पिर सँधैभरी छ’, निर्मलनिवास स्रोतले भन्यो,‘त्यसैले पनि अन्य सामान्य वार्डमा अक्सिजनको सपोर्टमा भए पनि उहाँलाई सताइहाल्यो।’

अवस्था अझ गम्भीर हुने भएपछि केही दिन अघि उनलाई प्लाज्मा थेरापीमार्फत उपचारको पहल गरिएको थियो। अस्पतालले सकेसम्मको प्रयासबाट उपचार गरिरहेका कारण अवस्था सुधारोन्मोख रहेको बताए पनि निवास फर्किने अनुमति दिएको छैन। कम्तिमा पनि दुई सातासम्म उनले अस्पतालमा बसेर अक्सिजनको सपोर्टमा कोरोनालाई जित्नैपर्ने चिकित्सकहरू बताउँछन्। 
अघिल्लो महिना भारतको हरिद्वारमा भएको कुम्भमेलामा पूर्वराजा ज्ञानेन्द्रको सहभागीता हुने निश्चित भएपछि उनी पनि भारत गएकी थिइन्। तर, मेलामा जाँदा समस्या हुने भएपछि उनलाई नयाँ दिल्लीमा नै राखिएको थियो। तैपनि कोरोना संक्रमणबाट उनी जोगिन भने सकिनन्। 

यसैबीच पूर्वराजाको अवस्था पनि सामान्य नै रहेको बताइएको छ। तर, उच्च रक्तचापका कारण दुई पटकसम्म हृदयघातको उपचार गराइसकेका ज्ञानेन्द्रले पनि अस्पतालमा लामो समय नै बस्नुपर्ने बताइएको छ। अस्पतालमा विशेष निगरानीमा उनीहरूको उपचार जारी राखिएको बताइन्छ। 
उता पूर्वअधिराजकुमारी प्रेरणालाई भने अहिलेसम्म अक्सिजन दिनु परेको छैन। तथापी कोरोना मुक्त भइसकेको अवस्था नरहेको अस्पताल स्रोतले जनाएको छ। 
यसैबीच निर्मलनिवाससँग सम्बन्ध राख्ने कतिपयलाई कोरोना संक्रमण देखिएको थियो। पूर्वराजाका संवाद सचिव समेत रहेका डा. फणि पाठक पनि कोरोना संक्रमित भएका छन्। उनी पनि आइशोलेशनमा बसेर उपचार गरिरहेको बताइएको छ। 
निर्मलनिवासका अन्य सदस्यलाई भने कोरोना देखिएको छैन। पूर्वराज परिवारमा पूर्वयुवराज्ञी हिमानी शाह, उनका तीन सन्ता पूर्णिका, कृतिका र हृदयेन्द्र पनि निर्मलनिवासमा बस्छन्।