काठमाडौं– चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नाफा बढे पनि लगानीकर्तालाई दिने प्रतिफल भने घटेको छ। बैंकहरुको पुँजी वृद्धिसँगै व्यवसाय विस्तार गर्न नसक्दा लगानीकर्ताले पाउने प्रतिफल घटेको हो।
सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुको गत आवको चैत मसान्तसम्म १४.४० आरओई (रिटर्न अन इक्विटी) रहेकोमा चालू आवको यसै अवधिमा १३.५४ प्रतिशतमा झरेको छ। चैतसम्मको वित्तीय विवरणमा ९ बैंकको पुँजीमा प्रतिफल घटेको देखिएको छ।
प्रतिफल घट्ने बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ, स्ट्याण्डर्ड चार्टर्ड, बैंक अफ काठमाण्डू, हिमालयन, कृषि विकास, नेपाल एसबीआई, एभरेष्ट, नेपाल बैंक र सेञ्चुरी बैंक छन्।
वाणिज्य बैंकहरुले चुक्तापुँजी ८ अर्ब पुर्याए पनि त्यसअनुसार व्यवसाय विस्तार भएको छैन। यस अवधिमा मर्जर तथा एक्विजिसन नगरेका पुराना तथा विदेशी लगानी रहेका बैंकहरु छन्। स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन, नेपाल एसबिआई र स्ट्याण्डर्ड चार्टर्ड विदेशी लगानी रहेका बैंक हुन्। यसैगरी सरकारी लगानी रहेका बैंकहरु समेत यसमा छन्।
पुँजी वृद्धिसँगै व्यवसाय विस्तारमा आक्रामक भएका बैंकहरुको भने प्रतिफल वृद्धि भएको छ। मर्जर तथा एक्विजिसनमार्फत बैंकको आकार विस्तार गरेका बैंकहरु प्रभु, सानिमा, एनआईसी एशिया, प्राइम, नेपाल बंगलादेश, एनएमबी, सिद्धार्थ, मेगा, कुमारी, सिटिजन्सलगायत बैंकको प्रतिफल वृद्धि भएको छ।