काठमाडौं । काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले एक हप्ता लम्ब्याएर यही वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
यसअघि एक हप्ताका लागि यही वैशाख २२ गतेसम्म निषेधाज्ञ जारी गरिएको थियो । थप एक हप्ता लम्ब्याएर वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउने मंगलबार निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले क्यानडानेपाललाई जानकारी दिए ।
मन्त्रिपरिषद्ले वैशाख १३ गतेदेखि लागू हुने गरी दुई हप्ताका लागि निषेधाज्ञा जारी गरेको भएपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएका हुन् ।
अनावश्यक पासको व्यवस्थालाई हटाएको र अत्यावश्यकीय पासमात्रै दिइएको काठमाडौंका प्रजिअ पराजुलीले जानकारी दिए ।
थपिएको निषेधाज्ञा वैशाख २३ गतेदेखि लागू हुने जानकारी दिँदै पराजुलीले सो अवधिमा खाद्यान्नसहित अत्यावश्यकीय पसलहरु पनि बिहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न दिने निर्णय भएको बताए ।