काठमाडौं : कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर तीव्र भएसँगै पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा सङ्क्रमण भई निधन भएकाको शव आउने क्रम बढ्न थालेको छ।
कोरोना सङ्क्रमण भई निधन भएका दैनिक सरदर ३० को हाराहारीमा शव आउन थालेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए। विद्युतीय शवदाह गृहमा तीनवटा शवदाह यन्त्र छन्। यी यन्त्रले नभ्याएपछि हाल बागमती किनारमा पनि सङ्क्रमण भई निधन भएकाको शवदाह हुन थालेको छ।
संक्रमणको सुरुवाती अथात पहिलो लहरमा सेनाले विभिन्न अस्पतालबाट एक पटकमा एउटा शव उठाउँदै आएको थियो। तर अहिले त्यो अवस्था छैन। पछिल्लो केही दिन यता सेनाले एक पटकमा चार वटा शव उठाउँदै आएको छ। यसो गर्दा समेत उनीहरुलाई भ्याइनभ्याई भइरहेको छ। सेना बिहानैदेखि राति अबेरसम्म शव व्यवस्थापनमै खटिरहेको छ।
शव व्यवस्थापनमा खटिएको सेनाजस्तै गाह्रो अवस्थामा पुगेको छ, पशुपतिमा रहेको विद्युतीय शवदाह पनि। संक्रमणबाट ज्यान गुमाएकाहरुको अन्तिम संस्कार सोही ठाउँमा हुँदै आएको छ। संक्रमितको अन्तिम संस्कार अहिलेसम्म थेगिरहेको विद्युतीय शवदाहगृह अब भार थाम्न नसक्ने अवस्थामा पुगेको छ।
केही दिन यता संक्रमितको मृत्यु दर एकाएक बढेसँगै शवदाहमा चाप बढेको छ। शुक्रबारदेखि निरन्तर रुपमा चलिरहेको शवदाहले भार थेग्न नसक्ने भएपछि आइतबार साँझबाट संक्रमितको अन्तिम संस्कार बाग्मतीको किनारमा गर्न सुरु गरिएको छ।