बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बालबालिकामा संक्रमण दर बढ्यो: संक्रमितमध्ये १० प्रतिशत बालबालिका

सोमबार, बैशाख ६ २०७८

नेपालमा कम उमेर समूहका बालबालिकामा संक्रमण दर ह्वात्तै बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या बढेसँगै बालबालिका पनि उच्च जोखिम बढेको मन्त्रालयका प्रा.डा. जागेश्वर गौतमले बताए । पछिल्लो समय संक्रमण बढेसँगै ३ हजार ५ सय ६५ जना बालबालिकामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणकै कारण १० जना बालबालिकाले ज्यान गुमाइसकेका छन् । अघिल्लो पटक महामारी फैलँदा बालबालिका तुलनात्मक रुपमा खासै प्रभावित थिएनन् । पछिल्लो तीन हप्तायता कोरोना संक्रमणको नयाँ भेरिएन्टबाट शहरी क्षेत्रका बालबालिका बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लाका विद्यालयले बन्द गर्न वैशाख २ गते अपिल नै जारी गरिसकेको छ । सिंहदरबारमा शनिबार बसेको सीसीएमसीको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

विद्यालयको पठन पाठन भने बन्द नगरी अनलाइन माध्यमबाट पढाउने गरी शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीले सिफारिस गरेको हो । प्रदेश र स्थानीय तहले भने विद्यालय बन्द गर्ने वा नगर्ने निर्णय आफै गर्न पाउने छन् । सीसीएमसीले मन्त्रिपरिषद्लाई ४ गते गरेको सिफारिस स्वीकृत गरेको खण्डमा यो लागू हुनेछ  ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबाट अति प्रभावित जिल्लाका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई घोषणा गरेको छ ।

यता, विद्यालय बन्द गर्ने बारे ठोस निर्णय नहुँदा अभिभावकहरु आफ्ना बालबालिकालाई विद्यालय पठाउने कि नपठाउने भन्ने दोधारमा परेका छन् ।

बालबालिकामा धमाधम नयाँ भरिएन्ट देखिएको सम्बन्धित निकायले भनिरहँदा किन र कसरी बालबालिका सिधै प्रभावित भए भन्ने विषय अध्ययनको विषय बनेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन बताउँछन् । यही तरिकाले अन्य उमेर समूहका झैँ साना बालबालिकामा संक्रमण बढे कस्तो अवस्था आउँछ भन्ने विषयमा गम्भीर बन्ने बेला आएको उनले बताए । ‘नयाँ भेरिएन्टको संक्रमण दर तीव्र छ,’ उनले भने, ‘हालसम्म बालबालिका, युवा, वयस्क, ज्येष्ठ नागरिकमा कस्तो असर पार्छ भन्ने अध्ययनको विषय बनिरहेको छ ।’