बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

भारतीय टोली नेपालमा रेलमार्गको संभाव्यता अध्ययन गर्न आयो, रसियाको पनि रेल  निर्माणमा चासो 

आइतबार, फाल्गुन ९ २०७७

 

काठमाडौं । काठमाडौं रक्सौल रेलमार्गको संभाव्यता अध्ययन गर्न भारतीय टोली नेपाल आएको छ । भौतिक तथा पूर्वाधार मन्त्रालयका अनुसार १ सय १३किलोमिटर लामो  यो रेलमार्गमा भारतको  चासो रहेको छ । 

यति नै बेला नेपालमा रेलमार्ग बनाउनका लागि रसियाले पनि चासो देखाएको छ । जसकालागि हालैमात्रै नेपालका लागि रसियाली  राजदुत सहितको टोलीले मन्त्रीलाई भेटेको छ । तर, यता चीन काठमाडौं रेलमार्गको बिस्तृत संभाव्यता अध्ययनका लागि भने तत्काल चीनिया टोली आउने संभावना नरहेको भौतिक पूर्वाधार मन्त्रालयका सचिब रबिन्द्र श्रेष्ठले जानकारी दिएका छन् । 

केरुङ काठमाडौंकोे चिनीयाँ रेल र रक्सौल काठमाडौंको भारतीय रेलको अहिलेसम्म   लगानीको मोडालिटी टुंगो लाग्न सकेको छैन । दुई शक्तिशालि छिमेकी देशले नेपालमा रेल ल्याउने कुरा कागजी प्रक्रियामै अलमलीरहेको बेलामा रसियाले पनि नेपालको रेल क्षेत्रमा लगानी गर्ने चासो देखाएको हो  ।

विश्वमा दोस्रो ठूलो अर्थतन्त्र भएको उत्तरी सिमानाको  छिमेकी राष्ट्र चीनले  सितात्सेबाट केरुङ हुँदै काठमाडौंसम्म आउने रेल निर्माणमा चासो देखाएपनि ठोस प्रगति अहिलेसम्म हुन सकेको छैन ।

गत वर्षको असोजमा चिनीयाँ राष्ट्रपति नेपाल आउँदा यो रेलमार्गको संभाव्यता अध्ययन गर्ने सहमति भएपनि अहिलेसम्म संभाव्यता अध्ययनका लागि चिनीयाँ टोली नेपाल आउन अहिलेसम्म सकेको  छैन । करिब ७२ किलोमिटर नेपाली भूभागमा बन्ने यो रेलका लागि सुरुमा त चिनीयाँ भुभागमा सिगात्से देखि केरुङसम्म रेल आउनुपर्छ । सन् २०२२ सम्ममा केरुङसम्म रेल ल्याउने चिनको योजना  छ । यो रेलमार्गको लागि तत्काल चीनीयाँ टोली आउने संभावना नरहेको सरकारी अधिकारीहरु बताउँछन् । 

 दुई शक्तिशाली छिमेकी राष्ट्रले रेल निर्माणका लागि प्रक्रिया अघि बढाइरहँदा रसियाले पनि नेपालमा रेल निर्माणका लागि चासो देखाएको  छ । जसका लागि हालैमात्रै नेपालकालागि रसियाका राजदुतएलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ता मात्रै गरेका छैनन्,  रसियन रेलवेको तर्फबाट मन्त्रालयमा आशयपत्र समेत बुझाइएको छ ।

अहिले संयुक्त राष्ट्र संघमा ५स्थायि सदस्य छन् । जसमा चीन र रुस  दुबै पर्छन् । तर भारत यसमा अस्थायि सदस्यको रुपमा मात्रै रहेको छ । अर्थात आर्थिक हिसाबमा रुस भारत भन्दा पछि रहेपनि  विश्व राजनीतिमा भने अघि रहेको  छ । त्यसैले आफ्नो राजनीतिक उपस्थिती देखाउनका लागि पनि रुस नेपालमा आएको छ । यति मात्रै होइन, रेलवे निर्माणमा नयाँ प्रविधिको बिकास गर्न नसकेपनि रुस त्यति कमजोर राष्ट्र भने हैन । त्यसैले  रेल वे निर्माणमा आवश्यक पर्ने सरसामान बेच्नका लागि  पनि रुसले नेपालमा रेल निर्माणमा चासो देखाएको हुनसक्छ । 

चीन र भारत दुबै नेपाली भूभागमा आफ्नो मात्रै रेल होस् भन्ने चाहन्छन् । सुरक्षाका हिसाबले नेपाली भूभागमा चीनिया रेल आउनु भारतका लागि चिन्ताको बिषय हो र चीन स्वंम पनि नेपालमा  भारतीय रेल आओस् भन्ने चाहदैन । यहि द्वन्दका बिचका कारण नेपालमा रेल निर्माण प्रभावित हुने र आफ्नो उस्थिती भएमा दुबै देशको चिन्ता नरहने भन्दै रुसले नेपालमा रेल निर्माणको चासो देखाएको हो ।  रसिया आर्थिक हिसाबले सन् २००९ यता कै सबैभन्दा कमजोर अवस्थामा रहेको हुनाले रेल निर्माणको  जिम्मा लिइहालेपनि बनीहाल्ला भनेर चाहि अहिले नै आश गर्न भने सकिदैन ।