बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आरोपी हिरासतमा, शव अस्पतालमा केही प्रश्नमा स्पष्ट हुन बाँकी

बिहिबार, फाल्गुन ६ २०७७

बैतडीकी किशोरी भागरथी भट्टको हत्या पूर्वयोजनाअनुसार भएको प्रहरीको निष्कर्ष छ । गाउँकै भाइ पर्ने किशोरले उनको हत्या गरेको प्रहरी दाबी छ । तर, मृतककै केही आफन्त भने किशोर एक्लैले यति जघन्य अपराध गरेकोमा पूर्ण विश्वस्त छैनन् ।

भागरथीका बुबाले आफ्नो परिवारका एक महिलालाई दुव्र्यवहार गरेको प्रतिशोधमा आफूले भागरथीसँग बदला लिएको किशोरको बयान छ । तर, यो कथित घटना भागरथी र आरोपी किशोर जन्मिनुभन्दा पनि करिब १८ वर्ष पुरानो हो । त्यसैको बदलास्वरूप अहिले यति जघन्य अपराध भएकोमा पीडित परिवार ढुक्क हुन सकेको छैन ।

मृतकका दाइले ती किशोरविरुद्ध किटानी जाहेरी दिइसकेका छन् । ‘प्रहरीको आग्रहमा जाहेरी दिएका हौँ, तर उसले एक्लै यत्रो घटना गरायो भन्नेमा हामी विश्वस्त छैनौँ,’ भागरथीका काका शिवराज भट्टले भने । प्रहरीले भने आरोपी किशोरको साबिती र परिस्थितिजन्य प्रमाणलाई आधार बनाएर उनलाई पक्राउ गरी अदालतमा पेस गरेको छ । 

घटनास्थलको प्रकृति र आरोपीले दिएको बयानका आधार यो घटना ती किशोरले नै गरेका हुन् भन्नेमा शंका नरहेको डिआइजी सुवेदीको भनाइ छ । ‘अहिलेसम्मको अनुसन्धानमा घटनामा एकजना मात्रै संलग्न देखिएका छन् । प्रहरीसँग घटनास्थलका प्रमाणहरू पनि छन् । पोस्टमार्टम रिपोर्ट आइसकेको छ र ल्याबको रिपोर्ट आउन बाँकी छ,’ उनले भने ।
पर्याप्त प्रमाणका आधारमा आरोपीलाई सार्वजनिक गरिएको प्रहरीको भनाइ छ । ‘त्यो वेला आरोपी किशोर घटना भएकै ठाउँमा भएको प्रमाण भेटिन्छ र उसले समय र सन्दर्भसँग मिल्ने बयान दिएको छ,’ सुदूरपश्चिम प्रदेश कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले भने ।

प्रहरीका अनुसार घटनाअघि आरोपी किशोर एक्लै सोही बाटो आएको देख्नेहरू पनि छन् । साथै, मोबाइल लोकेसन, घटनापछिको व्यवहारबाट पनि उनको संलग्नता छ भन्ने निष्कर्षमा पुग्न सकिने प्रहरीको भनाइ छ । ‘घटनास्थलमा कुकुर लगेको दिन उनी डराएर स्कुल नगई गोठालो गएका थिए,’ एसएसपी सिंह भन्छन्, ‘उसले आफूसँग बदलाको भावना रहेको कुरा पनि बताएको छ ।’

स्पष्ट हुन बाँकी केही प्रश्न
प्रहरीले आरोपी किशोरलाई सार्वजनिक गरे पनि पीडित परिवारले केही प्रश्न उठाएका छन् । 
१. मुख्य उद्देश्य बलात्कार कि हत्या ?
आरोपी किशोरले हत्या गर्ने योजनाले बाटोबाट धकेलेर ३० मिटर तल खसालेको र घाइते अवस्थामा घाँटी अठ्याएर हत्या गरेको बयान दिएका छन् । बलात्कार गर्नका लागि कपडा फुकालिदिएको, तर बलात्कार नगरी छाडेको प्रारम्भिक बयान दिएका छन् । तर, पीडितको निजी अंगबाट रगत बगेको अवस्थामा शव भेटिएको थियो । त्यति मात्र होइन, पोस्टमार्टम रिपोर्टले पनि बलात्कार भएको पुष्टि गरेको छ । ‘पीडितको निजी अंगमा निकै ठूलो क्षति भएको छ, सुत्केरी हुँदा महिलाको जुन अवस्था हुन्छ, त्यही अवस्था उनको थियो,’ अस्पताल स्रोतको भनाइ छ । मृतकको स्तनमा समेत टोकिएका घाउहरू भेटिएका छन् । त्यसैले बलात्कार गरेको होइन भन्ने आरोपितको दाबी र उपलब्ध प्रमाण मिल्दाजुल्दा छैनन् । यो विषयमा प्रहरी आफैँ पनि स्पष्ट भइसकेको छैन ।

२. ३५ वर्षअघिको घटनामा अहिले प्रतिशोध ! 
आरोपी किशोरले आफ्नो परिवारको एक महिला सदस्यमाथि भागरथीका बाबुले यौन दुव्र्यवहार गरेकाले आपूmले बदला लिन यो अपराध गरेको बहाना बनाएका छन् । दुई परिवारबीच यो विषयमा विगतमा मनमुटाव भएको गाउँलेले पनि बताएका छन् । तर, यो कथित घटना करिब ३५ वर्षअघिको हो, स्वयं भागरथी र आरोपी किशोर जन्मिनुभन्दा १८ वर्षअघि भएको यो घटनाको बदला लिन किशोरले अहिले हत्या गरेका हुन् भन्नेमा छिमेकीहरू विश्वस्त छैनन् । त्यसैले आफ्नै आपराधिक मानसिकताले बलात्कार गरेर अहिले प्रतिशोधको लेपन लगाएको हुन सक्ने छिमेकीहरूको भनाइ छ ।

३. अनुसन्धान पूरा नहुँदै प्रहरीलाई माला
आरोपी किशोरलाई अदालतमा पेस गरेपछि अनुसन्धान सफल भएको भन्दै भागरथीको गाउँमा प्रहरीलाई सम्मान गरिएको छ । स्थानीय खोँचलेक प्रहरी चौकीमा डिआइजी उत्तम सुवेदीसहित टोलीलाई खादा ओढाइएको थियो । एकातिर भागरथीका दाइले नै आरोपी किशोरविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

अर्कोतिर, किशोर एक्लैले यो अपराध गरेका होइनन् भनेर परिवार भन्दै छ । त्यति मात्र होइन, अनुसन्धान नसकिँदै प्रहरीलाई फूलमाला गरिएको छ । यो विरोधाभासका विषयमा भागरथीका काका शिवराजले भने, ‘दाइ सोझो छ, प्रहरीले उजुरी दिनु भनेपछि दिएका हौँ, फूलमाला त वडाध्यक्षहरूले लगाइदिएका हुन् ।’ प्रहरीको सम्मान गर्न दोगडाकेदार– ७ का वडाध्यक्ष भरत महरा, ३ का अध्यक्ष चन्द्रदेव जोशी र भागरथी न्याय अभियानका अभियन्ता भुवन कार्की खोँचलेक प्रहरी चौकी पुगेका थिए ।

४. आरोपी हिरासतमा, शव अस्पतालमा
दोषीलाई छिटोभन्दा छिटो गिरफ्तार गर्न दबाब दिँदै आएका परिवारले अझै  पनि शव बुझ्न मानेका छैनन् । ‘आरोपी किशोर एक्लैले यति ठूलो अपराध गराउन सक्छ भन्नेमा हामीलाई विश्वास छैन, घटनाको सम्पूर्ण अनुसन्धान सकिएको छैन, न्याय पाउने निश्चित नभएसम्म शव उठाउँदैनौँ,’ पीडित परिवारका आफन्तको भनाइ छ । १४ दिनदेखि राखिएको शव सुरक्षित गर्न अस्पताललाई समेत हम्मे परेको छ । 

५. डिएनए परीक्षणमा अन्योल
भागरथीको शरीरबाट संकलन गरिएको नमुना प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा ल्याइएको छ, तर पीडित र आरोपीको डिएनए परीक्षण गराउने कि नगराउने भन्नेमा प्रहरी आफैँ प्रस्ट भइसकेको छैन । अपराधका घटनामा डिएनए परीक्षण गराउने प्रचलन आम होइन ।

निर्मलाको बलात्कार तथा हत्याको घटनामा डिएनएको भर पर्दा अनुसन्धान नै बिथोलिएको प्रहरीको आन्तरिक मूल्यांकन छ । खासगरी डिएनएको नमुना संकलनमा पर्याप्त सावधानी नभएमा परीक्षणले समेत सही नतिजा नदिन सक्छ । अहिले पक्राउ परेका किशोरका विरुद्ध पर्याप्त प्रमाण भएकाले त्यसैका आधारमा मुद्दा चलाउन सकिने विषयमा प्रहरी छलफलमा छ ।