बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अब काठमाडौंमा पाँच रुपैयाँमा एक लिटर पिउने पानी

शुक्रबार, माघ ३० २०७७

अब काठमाडौं महानगरभित्रका तीन ठाउँमा पाँच रुपैयाँमै एक लिटर पानी पिउन पाइने भएको छ । महानगरपालिकाले बिहीबारबाट तीन ठाउँमा वाटर एटीएम सञ्चालनमा ल्याएसँगै यो सेवा उपलब्ध भएको हो । वाटर एटीएम शंखघर पार्क (रत्नपार्क) टिकट काउन्टरसँगै, स्वयम्भू भगवान पाउ र बालाजु उद्यान प्रवेशद्वारसँगै स्टेसन राखिएका छन् । यी ठाउँलाई महानगरले ‘जरुंहिति’ नाम दिएको छ । 

बटुवाको प्यास मेटाउन काठमाडौंमा जरुंहिति थिए । घरमा पानी लिएर आउने गृहिणीले यी हितिमा एक एक अङ्खोरा पानी राखिदिने गर्थे । त्यो पानी पिएर बटुवाले प्यास मेटाउँथे । यस्ता स्थान विस्तारै हराउन थालेपछि महानगरले गत ९ चैतमा स्वच्छ पिउने पानी उपलब्ध गराउन स्मार्ट वाटर भेन्डिङ मेसिन (वाटर एटिएम) राख्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको थियो । 

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापाले आधुनिक प्रविधिसँग सेवाग्राहीलाई जोड्न काठमाडौंं महानगपालिकासँगको सहकार्यबाट परिणाम प्राप्त भएको बताए । ‘पहिलो चरणमा उपत्यकाका १५ ठाउँमा सञ्चालन गर्ने तयारी छ । विस्तारै मुलुकभरिकै सहरमा सेवा विस्तार हुनेछ,’ उनले भने । नवीनतम सेवाका लागि स्थानीय तहहरूसँग सहकार्य गर्दै जाने उनको भनाइ छ ।

उपत्यकाका १५ ठाउँमा वाटर एटिएम राखिँदै
चालू आर्थिक वर्षभित्र महानगरको वडा नम्बर ४ को शंखपार्क, १५ को स्वयम्भूको भुइँखेल, १६ को बालाजु पार्क, २८ को शंखधर पार्क र ३१ को ट्रलीबस सेवा भएको कम्पाउन्डमा वाटर एटिएम राखिनेछ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले उपत्यकाका १५ ठाउँमा यस प्रकारका प्रणाली जडान गर्दैछ । बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाका अनुसार स्थापनापछिका तीन महिना सञ्चालन व्यवस्थापन खर्चसहित प्रणाली जडानको लागत करिब १५ लाख ८६ हजार रुपैयाँ हो ।

उपत्यकाका सबै प्रणाली जडान गर्दा करिब दुई करोड रुपैयाँ खर्च हुने उनको भनाइ छ । यी ठाउँमा वाटर एटिम स्थापना गरेर आउने तीन वर्षसम्म सञ्चालन व्यवस्थापनको काम बोर्डले गर्नेछ भने महानगरपालिकाले एटिएम राख्ने ठाउँ, बिजुली र सुरक्षा उपलब्ध गराउनेछ । ‘प्लास्टिकरहित सहरको परिकल्पनामा सहभागी बनौँ’ नारा लेखिएको बोर्डसँगै प्रणाली जडान भइसकेका वाटर एटिएमको बिहीबार शुभारम्भ गरिएको हो । 

के हो वाटर एटिएम ?

वाटर एटिएम एउटा उपकरण हो । यसको प्रयोग गर्दा सुरुमा तिरेको दुई रुपैयाँमा एउटा दुई सय मिलिलिटर पानी अट्ने कप र दुई सय मिलिलिटर पानी पाइन्छ । त्यसपछिका हरेक दुई सय मिलिलिटरको पानीको मूल्य एक रुपैयाँ पर्छ । त्यसमा आफूलाई आवश्यकता भएअनुसार पानी लिन सकिन्छ । यदि कसैले बोतल लिएर जाने हो ५ रुपैयाँमा एक लिटर पानी भर्न सकिन्छ । मेसिनमा एक रुपैयाँको सिक्का मात्र चल्छ । बटुवासँग सिक्का पैसा छैन भने १० वा ५ रुपैयाँको नोटको सिक्का साट्न सकिन्छ । 

सिक्का साट्न वाटर भेन्डिङ मेसिन सिक्का साट्ने मेसिन राखिएको छ । साटेको सिक्कामध्ये एक रुपैयाँको सिक्कालाई कप डिस्पेन्सर मेसिनको सिक्का हाल्ने ठाउँमा छिराउनुपर्छ । यसबाट दुई सय मिलिलिटर पानी अट्ने कागजको कप आउँछ । कपलाई लगेर धाराको तल राख्ने । एक रुपैयाँको सिक्कालाई धारासँगैको सिक्का हाल्ने ठाउँमा छिराउने । यसमा दुई सय मिलिलिटर शुद्ध पिउने पानी आउँछ । थप पानी खान मन लागे फेरि एक रुपैयाँको सिक्का खसाउँदा दुई सय मिलिलिटर पानी पाउन सकिन्छ । एक लिटर पानी लिनु परे बोतल थापेर एक रुपैयाँका पाँचवटा सिक्का खसाउने, एक लिटर पानी प्राप्त हुन्छ ।

बटुवालाई चाहिएको ठाउँ र चाहिएको मात्रामा स्वच्छ पिउने पानी उपलव्ध गराउनु एटिएम स्थापनाको उद्देश्य रहेको महानगरले जनाएको छ । अहिले उपभोक्तालाई नचाहिए पनि एक लिटर पानी अनिवार्य किन्नुपर्ने बाध्यता छ । एटिएम जडानपछि आफूलाई चाहिने जति मात्र पानी किन्न सकिने भएको छ । अहिलेको प्रणालीभित्रै १५ सय लिटरको र त्यससँगै छेउमा पाँच हजार लिटरको ट्यांकी राखिएको छ । मेलम्चीको पानी वितरण भएपछि मेलम्चीको पाइप प्रणालीमा सोझै जडान गर्ने योजना छ । आजको नयाँ पत्रिकाबाट