काठमाडौं । सोमबार सामाजिक सञ्जालमा जुम्लामा लोडसेडिङ तालिका आएको भनेर खुबै चर्चा भयो । काठमााडौं सधै झिलिमिलि हुँदा जुम्ला यसअघि पनि अध्यारोमै थियो । किनकी त्यहाँ राष्ट्रिय प्रसारण प्रणाली पुगेकै छैन । तर प्राधिकरणले नयाँ सुचना निकालेपछि लोडसेडिङ हुन थालेको भनियो । के हो त वास्तविकता ?
कुलमान घिसिङ विद्युत प्रािधकरणबाट बाहिरिएपछि जनतामा अहिले फेरी लोडसेडिङ हुने हो कि भन्ने त्राश छ । प्राधिकरणको तथ्यांक हेर्ने हो भने गत वर्ष भन्दा यो वर्ष कम लाइन गएको छ । त्यतिबेला बत्ति जादा जनता ढुक्क थिए । किनकी कुलमान हुँदा सम्म बिजुली जादैन भन्ने कैयनको बिश्वास थियो । घिसिङ केहि समय अघि प्राधिकरणबाट आफ्नो एक कार्यकाल पुरा गरेर निस्किएका छन् । उनलाई पुनर्नियुक्ती गर्नका लागि नारा जुलुस भएपनि सरकारले यसमा चासो दिएको छैन । बरु समय बिताउँदै लगेर पछि अर्कै ब्यक्ति नियुक्त गर्ने अहिलेको सरकारको नेर्तत्व तहमा बसेकाहरुको चाहना छ ।
अहिले विद्युत प्राधिकरणमा हितेन्द्र देब शाक्य कार्यबाहक कार्यकारीको रुपमा जिम्मेवारी सम्हालेका छन् । उनलाई जनताले बिश्वास गरेका छैनन् । किनभने कुलमानका ठाउँमा उनि मात्रै होइन, अन्य ब्यक्ति आउदा पनि जनताले संशयको दृष्टिले नै हेर्नेछन् । हो यहि संशयका कारण नै अहिले सामाजिक सजालमा लोडसेडिङका चर्चाले प्राथमिकता पाएका हुन् ।
कार्यबाहक कार्यकारी निर्देशक शाक्य भन्छन् ‘प्राधिकरणले जुम्लामा लोडसेडिङ गरेको भन्दै चर्चा भयो तर वास्तविकता त्यस्तो हैन, एक दिन बिराएर विद्युत् आपूर्ति हुँदै आएकोमा अव दैनिक रुपमा विद्युत् आपूर्ति हुने व्यवस्था गरिएको हो, यसबाट स्थानीय खुशी भएको जानकारी पाएका छौं’, ।
नेपाल विद्युत प्राधिकरणले जुम्लामा दैनिक सात देखि साढे सात घण्टासम्म विद्युत् दिने गरी नयाँ समय तालिका तय गरेको छ । राष्ट्रिय प्रसारण ग्रिड नपुगेको जुम्लामा यसअघि एक दिन बिराएर विद्युत् आपूर्ति गर्दै आएको प्राधिकरणले अहिले दैनिक सातदेखि साढे सात घण्टासम्म विद्युत् उपलब्ध गराउने तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले एउटा समूहबाट दैनिक सात र अर्कोबाट साढे सात घण्टा विद्युत् आपूर्ति हुने गरी नयाँ तालिका तय गरेको हो ।
प्राधिकरणले ११०÷११० किलोवाट जडित क्षमता भएका दुईवटा युनिट रहेको लघुजलविद्युत आयोजनाबाट विद्युत् उत्पादन गरी जुम्ला सदरमुकाम र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको छ । हिउँदमा खोलामा पानी घट्ने भएकाले अहिले आयोजनाबाट १३० देखि १४५ किलोवाटसम्म मात्रै विद्युत् उत्पादन हुन्छ । विद्युत माग र आपूर्तिको सन्तुलन मिलाई उपभोक्ताले दैनिक रुपमा विद्युत् प्रयोग गर्न पाउने गरी नयाँ व्यवस्था गरिएको शाक्यले बताउछन् ।
राति २ बजेबाट बिहान ५ बजेसम्म विद्युत उत्पादन बन्द गरी पानी जम्मा गरिन्छ । त्यसरी जम्मा भएको पानीबाट विहान विद्युतगृह सञ्चालन गरी विद्युत् आपूर्ति गरिन्छ । फेरि बिहान ८ बजेदेखि १० बजेसम्म विद्युत गृह बन्द गरिन्छ । जम्मा भएको पानीबाट १० बजेपछि ४ बजेसम्म विद्युत् उत्पादन गरी आपूर्ति गरिन्छ । साँझ विद्युत आपूर्तिका लागि विद्युत गृह फेरि दिउसो ४ बजेदेखि साँझ ६ बजेसम्म बन्द गरिन्छ । ६ बजेपछि विद्युतगृह सञ्चालन गरी राति २ बजेसम्म विद्युत् आपूर्तिको व्यवस्था गरिएको प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले जानकारी दिए ।
कर्णाली प्रदेशका कालिकोट, हुम्ला, डोल्पा, जुम्ला र मुगुमा राष्ट्रिय प्रसारण ग्रिडमार्फत विद्युत पु्र्याउन दैलेखबाट कालिकोटसम्म ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ ।