पोखरा । पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। यसअघि तीन जनाको मृत्यु भएकोमा थप दुई बालिकाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिनुभएको छ।
उनका अनुसार दुर्घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी रहेको र उद्धार कार्य सकिएपछि पहिचानको प्रक्रिया अघि बढाइने उनले बताए ।
पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस ओख्लेमा दुर्घटनामा परेको हो। दुर्घटनाका बेला बसमा २५ जना सवार रहेको बताइएको छ। तीमध्ये २१ जना विद्यार्थी थिए।
प्रहरीका अनुसार कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै थिए। सोही क्रममा बस दुर्घटनामा परेको हो।
दुर्घटनापछि प्रहरी र स्थानीयवासीले उद्धार कार्य गरेका थिए। घाइते विद्यार्थीहरूलाई उद्धार गरी विभिन्न अस्पतालमा पुर्याइएको छ।
दुर्घटनाको कारण, मृतकहरूको पहिचान र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।