बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

गगन थापाको प्यानल भन्दै बाँडिएका सूचीमा सत्यता छैन, हामीले प्यानल बनाउनु आवश्यक छैन : विश्वप्रकाश शर्मा

शुक्रबार, असोज २३ २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा प्यानलगत सूची बाँडिएको भन्ने हल्लाको खण्डन गरेका छन् ।

सभापतिका उम्मेदवार गगन थापाको प्यानल भन्दै उम्मेदवारहरूको सूची सामाजिक सञ्जालमार्फत प्रचार गरिएको चर्चा चलिरहेका बेला वरिष्ठ उपसभापतिका उम्मेदवारसमेत रहेका शर्माले त्यस्ता सूचीमा सत्यता नरहेको बताएका हुन् ।

शर्माले आफूहरूले तयार पारेको भन्दै बाँडिएका प्यानलका सूची फर्जी रहेको उल्लेख गर्दै सभापतिका उम्मेदवार र आफूका लागि सबै उम्मेदवार समान रहेको स्पष्ट पारे ।

“हामीले बनाएको र पठाएको भनेर प्यानलको चिट बाँडिएको थाहा पाएको छु। ती सबै फेक हुन्। सभापति र मेरा लागि सबै उम्मेदवार साथीहरू समान हुनुहुन्छ। हामीले प्यानल बनाउनु आवश्यक छैन,” उनले भनेका छन् ।

शर्माले सभापतिका उम्मेदवार थापाले समेत आफ्नो नाम जोडेर प्रचार गरिएका सूची फर्जी रहेको स्पष्ट पारिसकेको बताएका छन् ।

निर्वाचनमा जुनसुकै उम्मेदवार विजयी भए पनि सबैलाई समान रूपमा लिनुपर्ने उनको भनाइ छ। महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्दा विशेष महाधिवेशनको पक्ष र विपक्षका आधारमा नभई समग्र पार्टीको हितलाई ध्यान दिनुपर्ने उनले बताएका छन् ।

“जो साथीहरूले जिते पनि सबै समान हुनुहुन्छ। महाधिवेशन प्रतिनिधिहरूले मत दिँदा विशेष महाधिवेशनको पक्ष र विपक्ष छुट्याएर दिनुहुन्न। मतपरिणाम आउँदा त्यहाँ सबै थरी अनुहारको सन्तुलित प्रतिनिधित्व देखिनु पार्टीको बृहत्तर एकताको पक्षमा हुनेछ,” शर्माले भनेका छन्।

सभापतिका उम्मेदवार थापाको प्यानल भन्दै उम्मेदवारहरूको सूची आन्तरिक रूपमा वितरण भइरहेको सूचना सार्वजनिक भएपछि शर्माले यस्तो धारणा राखेका हुन्। उनले निर्वाचनबाट आउने परिणामले पार्टीभित्र सबै पक्षको प्रतिनिधित्व र एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।