बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

गगन थापाले भने– मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्

शुक्रबार, असोज २३ २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिका उम्मेदवारहरूको नाम जोडेर प्रचार गरिएका सूची आफ्नो आधिकारिक सूची नभएको स्पष्ट पारेका छन् ।

शुक्रबार बिहान फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले आफूले कुनै पनि उम्मेदवारलाई आधिकारिक समर्थन वा सिफारिस नगरेको बताएका हुन् ।

पार्टीको आन्तरिक निर्वाचनमा आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार भइरहेको उल्लेख गर्दै उनले त्यस्ता सूचीको भ्रममा नपर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरे ।

“मेरो नाम जोडेर आएको लिस्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन आग्रह गर्दछु,” थापाले भनेका छन् ।

उनले यसपटक पार्टीभित्र कुनै पनि प्यानल वा गुट नरहेको पनि स्पष्ट पारेका छन्। महाधिवेशन प्रतिनिधिहरूलाई कसैको प्रचार वा अफवाहमा नलागी आफ्नै विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न उनले आग्रह गरेका छन् ।

पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर मर्यादित, संयमित र उत्साहपूर्ण रूपमा निर्वाचन प्रक्रियामा सहभागी हुन पनि थापाले प्रतिनिधिहरूलाई अनुरोध गरेका छन् ।

प्रतिनिधिहरूले गर्ने विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले निर्वाचनमा भएको ढिलाइका कारण प्रतिनिधिहरूलाई परेको असुविधाप्रति क्षमासमेत मागेका छन् ।