बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना 

शुक्रबार, असोज २३ २०८३

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले केही स्थानमा भारी वर्षासमेत हुन सक्ने जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

हाल देशका पहाडी तथा हिमाली भूभाग, मधेस प्रदेश र कोशी, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लागेको छ। अन्य क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधारणतया बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।

महाशाखाका अनुसार हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। मधेससहित कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा कोशी प्रदेशको तराईका केही स्थान, मधेस प्रदेशका विभिन्न स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

महाशाखाले देशका विभिन्न भागमा तापक्रम केही घट्न सक्ने जनाउँदै वर्षा, चट्याङ, हुरी तथा असिनाबाट हुन सक्ने सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरेको छ।

विशेषगरी कृषिमा संलग्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई मौसमसम्बन्धी पछिल्लो सूचना र पूर्वानुमान नियमित रूपमा जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।