बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

हावाहुरी र वर्षाका कारण कांग्रेस महाधिवेशनको बन्द सत्र प्रभावित

बुधबार, असोज २१ २०८३

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ ।

आजको बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिएको थियो । तर अचानक हावाहुरीसहित ठूलो वर्षा भएपछि बन्द सत्र प्रभावित भएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

बिहान साढे १० बजेदेखि बन्द सत्र सुरु गर्ने कार्यतालिका रहे पनि खाजा समयपछि साढे ११ बजेदेखि सञ्चालन गर्ने तयारी गरिएको थियो । तर त्यसै समयमा हावाहुरीसहित वर्षा भएपछि खुलामञ्चमा रहेका महाधिवेशन प्रतिनिधिहरू प्रभावित भएका छन् । वर्षाका कारण प्रतिनिधिहरू खुलामञ्चमा आउनसमेत सकिरहेका छैनन् ।

कांग्रेसले महाधिवेशनको बन्द सत्र खुलामञ्चमा आयोजना गरिरहेको छ । भृकुटीमण्डपमा खाना तथा अन्य व्यवस्थापन गरिएको छ भने राष्ट्रिय सभागृहमा केन्द्रीय निर्वाचन समितिले निर्वाचनसम्बन्धी काम गरिरहेको छ ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान मतदान हुने कार्यतालिका रहेको छ ।