काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। यसैबीच पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै राठौरले सभापति पदमा गगन थापासँग प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका हुन्।
राठौरले आफू सभापतिमा पराजित हुने सम्भावना थाहा हुँदाहुँदै पनि उम्मेदवारी दिन लागेको बताए। उनले आफूले पार्टी नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गर्न उम्मेदवारी दिन लागेको स्पष्ट पारे।
उनले २५ वर्षअघि नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा उम्मेदवारी दिँदासमेत आफूलाई हराउन ‘साम, दाम, दण्ड र भेद’ प्रयोग गरिएको दाबी गरे।
“२५ वर्षअघि नेविसंघ अध्यक्ष लड्दै गर्दा पनि मलाई बनाउँदैन भन्ने थाहा थियो। साम, दाम, दण्ड र भेद प्रयोग गरेर मलाई हराइयो,” राठौरले भने।
विशेष महाधिवेशन पक्षधरले आफूलाई समर्थन नगर्ने आफूलाई थाहा भएको उनको भनाइ थियो।
विशेष महाधिवेशनमा सहभागी नभएको विषयमा राठौरले पार्टी कार्यालयहरूमा आक्रमण, नेताहरू लखेटिने र कुटपिट हुने अवस्था रहेकाले त्यतिबेला पार्टीभित्रको विवाद थप चर्काउन नहुने धारणा राखेको बताए।
त्यस समयमा आफूले विशेष महाधिवेशनमा सहभागी हुनुभन्दा गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचनमा केन्द्रित हुनुपर्ने प्रस्ताव राखेको उनले बताए।
“पार्टीभित्र अहिले झगडा गर्ने बेला होइन, मिलेर जाऊँ भनेर मैले गगन थापाजीकै निकटमार्फत प्रस्ताव पठाएको हो,” राठौरले भने।
कांग्रेसले आन्तरिक विवादभन्दा राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका बलियो बनाउँदै आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने आफ्नो धारणा रहेको उनले बताए।