काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिमा विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ।
संसद् सचिवालयका अनुसार बिहान सवा ११ बजे बस्ने समितिको बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी सदस्यहरूलाई वितरण गरिनेछ। साथै, प्रस्तावित राजदूतहरूले पेस गरेका कार्ययोजना पनि समितिका सदस्यलाई उपलब्ध गराइनेछ।
१३ जना प्रस्तावित राजदूतविरुद्ध कुल ७ वटा उजुरी परेको छ। त्यसमध्ये दुईवटा उजुरी सबै प्रस्तावित राजदूतलाई लक्षित गरी परेको छ भने पाँचवटा उजुरीमा एक–एक जना प्रस्तावित राजदूतलाई तोकेर उजुरी दिइएको छ।
मन्त्रिपरिषद्को असोज २ गते बसेको बैठकले विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो।
सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा तथा संयुक्त अधिराज्य (यूके) का लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जबरालाई राजदूतमा सिफारिस गरेको छ।
प्रस्तावित राजदूतहरूको उजुरी तथा कार्ययोजना अध्ययन गरेपछि समितिले क्रमशः उनीहरूको सुनुवाइ गर्नेछ।