काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पार्टीको वर्तमान अवस्थाको जिम्मेवारी लिन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सिंहले थापालाई ‘नयाँ पार्टीका सभापति’ भन्दै व्यंग्यात्मक टिप्पणी गरेका हुन् । थापाले कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा रास्वपा सभापति रवि लामिछानेलाई जवाफ दिँदै ‘हामीले केही सांसद पनि पठाइदिएका छौँ’ भनेपछि सिंहको यस्तो प्रतिक्रिया आएको हो ।
सिंहले कांग्रेस छाडेर नयाँ राजनीतिक दलमा गएका नेताहरू पार्टी त्यत्तिकै छाडेर नगएको दाबी गरेका छन् । उनले कांग्रेसको नेतृत्व ‘ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा’ पुगेपछि उनीहरू बाहिरिन बाध्य भएको आरोप लगाएका छन् ।
सिंहले लोकतन्त्र ल्याउन योगदान गरेको पार्टीका रूपमा कांग्रेसको इतिहासमा गर्व गर्नुका साथै वर्तमान अवस्थाको जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इतिहासको गौरव गाएर मात्र पुग्दैन, वर्तमानको सर्वनाशको जिम्मेवारी पनि लिन सक्नुपर्छ।’
सिंहले लोकतन्त्र ल्याएको पार्टीको नाम बेचेर राजनीति गर्ने र त्यही पार्टीको जग आफैँ भत्काउने काम भइरहेको आरोपसमेत लगाएका छन् । उनले यस्तो अवस्थालाई ‘विडम्बना’का रूपमा टिप्पणी गरेका छन् ।