मकवानपुर । मकवानपुरको हेटौंडास्थित सामुदायिक वनमा बोराभित्र हालेर खाल्डोमा फालिएको अवस्थामा भेटिएको महिलाको शव करिब दुई महिनापछि पहिचान भएको छ।
हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिकैको सामुदायिक वनमा गत साउन २२ गते भेटिएको शव भारतकी २२ वर्षीया अफ्रिना प्रविन भन्ने रुची खातुनको रहेको डीएनए परीक्षणबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार खातुन भारतको बेतिया बैरिया थाना, सरैया भटवलिया–६ निवासी विवाहित महिला हुन्। उनी गत वैशाख ९ गते ६ महिनाकी छोरीसहित श्रीमान्को घरबाट दाँतको उपचार गराउन भन्दै निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्।
शव भेटिएपछि प्रहरीले कपडा, गहनालगायतका विवरणका आधारमा पहिचानको प्रयास थालेको थियो। भारतीय प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाउँदा मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा रुची खातुन चितवनको भरतपुर महानगरपालिका–३, बेलचोक, नौघरे, गणेशमार्गमा कोठा भाडामा लिएर बस्दै आएका २७ वर्षीय राहुलकुमार गुप्ता भन्ने ईश्वरकुमारसँग बस्दै आएको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अनुसन्धानबाट रुची खातुनको हत्या भएको र घटनामा राहुलकुमार गुप्ताको संलग्नता रहेको खुलेको छ।
मृतककी आमा फातमा खातुनले भदौ ४ गते राहुलकुमार गुप्ताविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकी थिइन्।
डीएनए परीक्षणका क्रममा शवको नमुना मृतककी आमाको नमुनासँग मेल खाएपछि असोज १६ गते शुक्रबार फातमाले शव बुझेर लगेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भनिएका राहुलविरुद्ध भारतको नगर थाना बेतियामा समेत मुद्दा दर्ता भएको छ। उनी हाल भारतको कारागार कार्यालय बेतियामा थुनामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।