काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले पछिल्लो समय भोगेको राजनीतिक धक्काबाट विचलित नभई पुनः बलियो भएर अघि बढ्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ गराउँदै अध्यक्ष ओलीले सानातिना विषय, अहम् र अनावश्यक विवादमा नअल्झिएर पार्टीको उद्देश्यमा केन्द्रित हुन आग्रह गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र ‘रियलाइजेसन’ अर्थात् बोधको आवश्यकता रहेको बताए । उनका अनुसार रियलाइजेसन आत्मालोचनामा मात्र सीमित नभई विवेक, कर्तव्य, अनुशासन र ज्ञानको समग्र स्वरूप हो ।
सत्यलाई आत्मसात् गर्न सके मात्रै लडेको ठाउँबाट पुनः उठ्न सकिने उनले बताए । पार्टीले अहिले भोगेको धक्का स्वाभाविक भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट विचलित नभई अघि बढ्न कार्यकर्तालाई आग्रह गरे ।
उनले एमाले विगतमा दुई तिहाइको नजिक पुगेको स्मरण गर्दै त्यही अवस्था पार्टीको अन्तिम गन्तव्य नभएको बताए ।
“हाम्रो पार्टी महान् उद्देश्यका साथ अघि बढिरहेको छ । त्यसैले सानातिना कुरा, इगो र अनावश्यक विवादमा नअल्झी फराकिलो सोचका साथ अघि बढौँ,” उनले भने, “हामी दुई तिहाइको अवस्थामा पुगेका थियौँ । तर त्यो हाम्रो अन्तिम गन्तव्य होइन ।”
अध्यक्ष ओलीले नेता–कार्यकर्तामा ‘रिजिलियन्स’ अर्थात् धक्का खाए पनि पुनः उठेर अझ बलियो रूपमा अघि बढ्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।
“आफू को हौँ, हाम्रो उद्देश्य, कर्तव्य, अनुशासन र जिम्मेवारी के हो भन्ने बुझाइ हुनुपर्छ । त्यससँगै रिजिलियन्स अर्थात् धक्का खाए पनि फेरि उठ्ने र अझ बलियो भएर अघि बढ्ने क्षमता विकास गर्नुपर्छ,” उनले भने ।
नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पार्टीको जिम्मेवारीप्रति गम्भीर हुन आग्रह गर्दै अध्यक्ष ओलीले जनताको काममा दत्तचित्त भएर लाग्न निर्देशन दिए । आफूलाई दिइएको जिम्मेवारी पूरा गर्न सम्पूर्ण क्षमता र बुद्धिको प्रयोग गर्न आग्रह गर्दै उनले पार्टीको भविष्य नेता–कार्यकर्ताको निष्ठामा निर्भर रहने बताए ।