बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते

शनिबार, असोज १७ २०८३

नवलपरासी । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस आज बिहान पौने ४ बजे चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा खसेको प्रहरीले जनाएको छ ।

बसमा चालकसहित १८ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दुई जना भने सकुशल रहेको बताइएको छ ।

मृतकमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको मात्रै पहिचान खुलेको छ । अन्य पाँच मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १० जनाको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ । घाइते हुनेमा गोरखाका हरिशरण थापा, अछामका तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाकी आकृति, सञ्जय थारु, लालबहादुर कार्की, बाजुराका पवन बुढा र प्रेम बम, ललितपुरका अनोज खत्री, बाँकेका अस्लाम भगवान र सल्यानका अनिल बुढाथोकी रहेका छन् ।

दुर्घटनालगत्तै प्रहरी निरीक्षक थमनसिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेर बसमा सवार यात्रुको उद्धार गरेको थियो । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।