बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

रास्वपालाई आफ्नो सरकार आफैँ नढाल्न सांसद राईको सुझाव

शुक्रबार, असोज १६ २०८३

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकार जनताका जल्दाबल्दा प्रश्नको जवाफ दिन चुकेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै राईले अधिवेशनको अन्तिम दिनसम्म पनि सरकार प्रमुखबाट प्रतिपक्ष र जनताका जिज्ञासाको जवाफ प्राप्त हुन नसकेको बताए । उनले संसद्बाट ‘रित्तै घर फर्किनुपरेको’ भन्दै दुःख व्यक्त गरे ।

सांसद राईले चालु अधिवेशनमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षले उठाउँदै आएका जनसरोकारका विषयमा सरकार गम्भीर नभएको टिप्पणी गरे ।

राजनीतिशास्त्रका विद्यार्थीका रूपमा ऐतिहासिक सन्दर्भ उल्लेख गर्दै उनले २०१५ र २०६४ सालको चुनावी नतिजासँग वर्तमान सत्ता समीकरणको तुलना गरे । उनले सत्ता जोगाउन मात्रै केन्द्रित नभई पाँच वर्ष सरकार सञ्चालन गर्ने र सुशासन कायम गर्ने दिशामा अघि बढ्न सत्तापक्षलाई आग्रह गरे ।

“हामीले जनताका धेरै प्रश्न सदनमा उठायौँ, तर सरकार प्रमुखले जिम्मेवार ढङ्गबाट त्यसको जवाफ दिन सक्नुभएन । आज म जनताको घर–आँगनमा फर्किँदा रित्तो हात फर्किँदैछु,” उनले भने ।

सत्ता अंकगणितमा दुई तिहाइको नजिक देखिए पनि जनताको म्यान्डेट र विपक्षमा रहेको जनमतलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो । भ्रष्टाचार र जनअपेक्षाविपरीतका गतिविधिका कारण विगतमा आन्दोलन र विद्रोहका अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले त्यसबाट शिक्षा लिन सरकारलाई सचेत गराए ।

“भ्रष्टाचार र जनअपेक्षाविपरीतका गतिविधिले विगतमा घरहरू जलेका थिए, अब हामीले आफ्नो घर जोगाउन मुस्किल पर्ने अवस्था नआओस्,” राईले भने ।

उनले आगामी अधिवेशनमा सरकारले प्रतिपक्षका मागलाई अपमानका रूपमा नभई सम्मानपूर्वक लिने वातावरण बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सरकारलाई आफ्नो खुट्टामा आफैँ बञ्चरो नहान्न र आफैँ सरकार नढाल्न पनि उनले शुभकामना दिए ।