काठमाडौँ । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण आज हुँदैछ। पार्टी कार्यालय च्यासलमा दिउँसो ३ बजे मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम आयोजना गरिएको हो।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण दिउँसो ३ बजे हुने तय भएको छ।
एमालेको असोज ५ गतेदेखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले अन्य पार्टीबाट एमालेमा आएका १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो।
पार्टी विधानमा केन्द्रीय कमिटीको कुल सदस्य संख्याको १० प्रतिशतसम्म सदस्य मनोनयन गर्न सकिने व्यवस्थाअनुसार उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको एमालेले जनाएको छ।
यसैगरी, एमालेले स्थायी कमिटीमा पनि सात सदस्य मनोनीत गरेको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ।