बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

प्रधानमन्त्री बालेनको सचिवालयमा २५ जना, कस्लाई के सेवा–सुविधा ?

शुक्रबार, असोज १६ २०८३

काठमाडौँ । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सल्लाहकार समूह तथा स्वकीय सचिवालयमा कार्यरत पदाधिकारी र कर्मचारीको नामावली तथा सेवा–सुविधासम्बन्धी विवरण सार्वजनिक गरेको छ।

प्रधानमन्त्रीको पदभार ग्रहण गरेको करिब सात महिनापछि कार्यालयले आफ्नो वेबसाइटमार्फत प्रधानमन्त्रीको टोलीमा कार्यरत २५ जना पदाधिकारी, विज्ञ तथा कर्मचारीको विवरण सार्वजनिक गरेको हो।

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीको सल्लाहकार तथा विज्ञ समूहमा मन्त्री र राज्यमन्त्रीसरहको सेवा–सुविधा पाउने पदाधिकारीसमेत छन्। मुख्य राजनीतिक सल्लाहकारमा कुमार व्यञ्जनकार र राजनीतिक सल्लाहकारमा असिम शाह रहेका छन्। व्यञ्जनकारको पद अवैतनिक रहेको जनाइएको छ भने दुवैलाई मन्त्रीसरहको सेवा–सुविधा उपलब्ध गराइएको विवरणमा उल्लेख छ।

त्यस्तै, अवैतनिक स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदिशप्रसाद अग्रवालले मन्त्रीसरहको सेवा–सुविधा पाउनेछन्। नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्रीसरहको सेवा–सुविधा दिइएको छ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयको नेतृत्व प्रमुख स्वकीय सचिव सुवाष शर्माले गरेका छन्। उनी राजपत्राङ्कित विशिष्ट श्रेणीसरहको जिम्मेवारीमा छन्। स्वकीय सचिवमा नवीन भण्डारी रहेका छन्, जसलाई राजपत्राङ्कित प्रथम श्रेणीसरहको जिम्मेवारी दिइएको छ।

सहसचिव अर्थात् राजपत्राङ्कित प्रथम श्रेणीसरहको जिम्मेवारीमा विकास परियोजनातर्फ सञ्जीव पाण्डे, प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल, कार्यक्रम तथा भ्रमण संयोजकमा सन्तोष गिरी र सामाजिक विकास विज्ञमा विश्व राई रहेका छन्।

उपसचिव अर्थात् राजपत्राङ्कित द्वितीय श्रेणीसरहको जिम्मेवारी प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्यले सम्हालिरहेका छन्।

त्यस्तै, सहायक विज्ञका रूपमा नागरिक उड्डयनतर्फ सुमन गौतम तथा भाषा तथा मस्यौदातर्फ रवि किरण अधिकारी रहेका छन्।

शाखा अधिकृत तथा अन्य प्राविधिक र प्रशासनिक तहमा सुरेन्द्र बजगाई प्रेस सहजकर्ता, रोशन तामाङ ग्राफिक्स डिजाइनर, बेदानन्द जोशी, हेमनारायणदास चौधरी अनुसन्धान अधिकृत, अनुप थापा मगर, ऋषी थापा, अमृत पाण्डे भिडियोग्राफर, राजकुमार गौतम र बेनिस कार्की कार्यरत रहेको विवरणमा उल्लेख छ।

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणमा उनीहरूको जिम्मेवारीसँगै सम्बन्धित पदअनुसारको सेवा–सुविधाको स्तरसमेत उल्लेख गरिएको छ।