काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगले श्रेष्ठले आफ्नो पदको दुरुपयोग गरी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको तथा त्यसको केही हिस्सा श्रीमती कमला श्रेष्ठको नाममा समेत राखेको दाबी गरेको छ। आयोगले श्रेष्ठविरुद्ध ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ ४९ पैसा बिगो कायम गरेको छ।
आयोगका अनुसार श्रेष्ठविरुद्ध पदीय मर्यादाविपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा श्रेष्ठ नियुक्त भएको मिति २०५३ असार २७ देखि २०८१ चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरिएको थियो। उक्त अवधिमा श्रेष्ठ र उनका एकाघर परिवारका सदस्यको आय, व्यय, लगानी तथा सम्पत्तिको विस्तृत गणना र विश्लेषण गरिएको आयोगले जनाएको छ।
अनुसन्धानबाट श्रेष्ठको वैध आय तथा विभिन्न शीर्षकमा भएको खर्च र लगानीबीच तुलना गर्दा आयस्रोतले पुष्टि गर्न नसक्ने सम्पत्ति आर्जन गरेको देखिएको आयोगको दाबी छ।
आयोगका अनुसार गैरकानुनी रूपमा आर्जन गरिएको भनिएको सम्पत्तिको केही हिस्सा उनकी श्रीमती कमला श्रेष्ठका नाममा समेत राखिएको पाइएको छ। सम्पत्ति लुकाउने तथा अन्य व्यक्तिको नाममा राख्ने कार्यसमेत अनुसन्धानको दायरामा ल्याइएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार श्रेष्ठविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको अभियोग लगाइएको छ।
आयोगले श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐनबमोजिम कैद सजाय, कायम गरिएको बिगोबमोजिम जरिवाना तथा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ।
त्यस्तै, श्रीमती कमला श्रेष्ठका नाममा रहेको गैरकानुनी रूपमा आर्जित सम्पत्तिसमेत जफत गर्न सम्बन्धित कानुनी प्रावधानबमोजिम मागदाबी लिइएको आयोगले जनाएको छ।
आयोगले श्रेष्ठ र उनकी श्रीमतीका नाममा रहेको सम्पत्तिसम्बन्धी विवरण अनुसन्धान गरी गैरकानुनी रूपमा आर्जित सम्पत्तिको बिगो कायम गरेर कानुनी कारबाहीका लागि विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।