बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कोशी–बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा बिहान हुस्सु

शुक्रबार, असोज १६ २०८३

काठमाडौँ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती प्रदेशका तराईका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भने आंशिक बदली रहने पूर्वानुमान छ।

तराईका भूभागमा आंशिक बदलीसँगै बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेको छ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले मौसममा हुने परिवर्तनका कारण दैनिक जनजीवन, यातायात तथा हिमाली क्षेत्रमा हुने गतिविधिमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।