काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका हुन् ।
संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।
वैशाख २८ गतेदेखि सुरु भएको चालु अधिवेशनमा सरकारले बजेट तथा बजेटसँग सम्बन्धित कानुन निर्माण गरेको थियो ।
यस अवधिमा संसद् अधिवेशन नरहेका बेला सरकारले ल्याएका अध्यादेश स्वीकृत भएका छन् । ती अध्यादेशले संशोधन गरेका विषय समेटेर ल्याइएका प्रतिस्थापन विधेयकहरू पनि संसद्बाट पारित भई ऐनमा रूपान्तरण भएका छन् ।
