बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्च भएको कुरा गलत, २० करोड हाराहारी खर्च : गृहमन्त्री गुरुङ

बिहिबार, असोज १५ २०८३

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले रसुवाको भोटेकोशी बाढी प्रभावितको हेलिकप्टरमार्फत उद्धारमा १५ अर्ब रुपैयाँ खर्च भएको भन्ने विवरण गलत भएको बताएका छन् ।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले हालसम्मको विवरणअनुसार हेलिकप्टर उद्धारमा १४ करोड रुपैयाँभन्दा बढी खर्च भएको बताए । नेपाली सेनाको खर्च विवरण आउन बाँकी रहेकाले कुल खर्च करिब २० करोड रुपैयाँ पुग्न सक्ने उनको भनाइ छ ।

उद्धारमा अर्बौँ रुपैयाँ खर्च भएको भन्ने विवरणमा कुनै सत्यता नरहेको भन्दै उनले खर्चसम्बन्धी बिल सरकारसँग सुरक्षित रहेको बताए ।

‘हेलिकप्टर उद्धारमा १५ अर्ब खर्च भएको कुरा आइरहेको छ । बिलसहित नै १५ अर्ब भनिएको छ । तर वास्तविक खर्च २० करोड रहेछ । १४–१५ करोड खर्च भएको विवरण बिलसहित प्राप्त भएको छ । नेपाली सेनाको विवरण आउन बाँकी छ,’ उनले भने ।

गृहमन्त्री गुरुङले विपद्का बेला सरकारले नागरिकको खोज तथा उद्धारलाई प्राथमिकतामा राखेको बताए । विपद् प्रतिकार्यमा सरकार अझै सक्रिय रहेको उनको भनाइ छ ।

नुवाकोटलगायतका स्थानमा सुत्केरी, गर्भवती महिला र बालबालिकालाई एउटै होल्डिङ सेन्टरमा राख्दा उत्पन्न भएको असहजता तथा कमजोरीलाई सरकारले गम्भीर रूपमा लिएको उनले बताए ।

गुरुङले विपद् प्रतिकार्यका क्रममा सरकारले गरेका कामको समेत गम्भीर समीक्षा गरिने जानकारी दिए ।