बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती हुने, कहाँ कहिले ?

बिहिबार, असोज १५ २०८३

काठमाडौँ । काठमाडौँ उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा असोज १५ देखि २६ गतेसम्म भूमिगत विद्युत् वितरण प्रणालीसम्बन्धी काम गरिनेछ । सो क्रममा सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ ।

निर्धारित तालिकाअनुसार असोज १५ गते सतुंगल–बौथली, १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसी चोक, १७ गते मुलपानी, १८ गते गर्जुधारा र २० गते पुनः मुलपानी क्षेत्रमा विद्युत् आपूर्ति कटौती हुनेछ ।

यस्तै, असोज २१ गते बलम्बु, २२ गते कोटेश्वर–बालकुमारी, २४ गते सिफल, २५ गते सतुंगल–धौलागिरि आवास क्षेत्र र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरी भूमिगत लाइनसम्बन्धी काम गरिनेछ ।

प्राधिकरणले मौसम प्रतिकूल भएमा भने निर्धारित विद्युत् आपूर्ति कटौती नगरिने जनाएको छ ।

काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ तथा स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले चरणबद्ध रूपमा काम अघि बढाइरहेको छ । पहिलो चरणमा काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा भूमिगत वितरण प्रणाली निर्माणको काम सुरु गरिएको थियो ।

दोस्रो चरणमा काठमाडौँ जिल्लाका बाँकी सहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरका सहरी क्षेत्र र चौथो चरणमा पोखरा तथा भरतपुर महानगरपालिकाअन्तर्गतका क्षेत्रमा विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ तथा स्वचालित बनाउने काम भइरहेको छ ।

कार्यक्रमअन्तर्गत ३३ केभी, ११ केभी तथा ४०० भोल्टका विद्युत् लाइन भूमिगत गर्नुका साथै अप्टिकल फाइबरसमेत बिछ्याइनेछ । भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्ति प्रणालीको विश्वसनीयता तथा सुरक्षा बढ्नुका साथै वितरण प्रणालीलाई क्रमशः स्वचालित बनाउन सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ ।

सडक तथा सहरी क्षेत्रमा विद्युत्, टेलिफोन र इन्टरनेट सेवा प्रदायकका तार अव्यवस्थित रूपमा गुजुल्टिएर रहँदा उत्पन्न हुने दृश्यलाई समेत भूमिगत प्रणालीले व्यवस्थित गर्ने प्राधिकरणले जनाएको छ । यसबाट काठमाडौँ उपत्यकाको सहरी सौन्दर्य बढ्नुका साथै आधुनिक र व्यवस्थित विद्युत् वितरण प्रणाली निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।