बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, विभिन्न विधेयकमा छलफल हुँदै

बिहिबार, असोज १५ २०८३

काठमाडौँ । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने कार्यसूची छ ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नेछन् ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३, नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ र भुक्तानी तथा फछ्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

राष्ट्रियसभामा मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

राष्ट्रियसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

त्यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नेछन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूचीसमेत रहेको छ ।

यसैबीच, आज कृषि तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिका बैठकसमेत बस्ने भएका छन् ।