बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बिराट एग्रीको आईपीओ निष्कासन तयारी, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त

मंगलबार, असोज १३ २०८३

बिराट एग्री लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ । यसका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

बिराट एग्री र एनआईसी एशिया क्यापिटलबीच भविष्यमा प्रचलित कानुनबमोजिम सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्न आवश्यक संस्थागत परामर्श सेवा तथा निष्कासन र बिक्री प्रबन्धकसम्बन्धी कार्य गर्ने गरी दुई पक्षीय सम्झौता भएको हो । इटहरी–१३, सुनसरीमा कारोबार कार्यालय रहेको बिराट एग्री कृषि तथा एक्वाकल्चर क्षेत्रमा व्यावसायिक, आधुनिक र दिगो ढाँचामा काम गर्दै आएको कम्पनी हो । कम्पनीले मोरङ र सुनसरीमा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरीमार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन सञ्चालन गर्दै आएको जनाएको छ।

कम्पनीले इटहरी–१३, खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमताको आधुनिक फिस फिड प्लान्ट सञ्चालन गरी विभिन्न प्रकारका तैरिने तथा डुब्ने माछाका दाना उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ।

बिराट एग्रीले आगामी दिनमा पाङ्गास फिलेटिङ तथा फिस प्रोसेसिङ प्लान्ट स्थापना गर्ने योजना अघि बढाएको छ । आधुनिक प्रविधिबाट पाङ्गास माछा प्रशोधन गरी फिलेट तथा अन्य मूल्य अभिवृद्धि भएका माछाजन्य उत्पादन तयार गर्ने लक्ष्य कम्पनीको छ । त्यस्तै, माछा तथा पशुपन्छीका लागि पोषणयुक्त दाना उत्पादन गर्न दैनिक १० टन क्षमताको आधुनिक फिड प्लान्ट स्थापना गर्ने योजना पनि कम्पनीले अघि सारेको छ।

कम्पनीका अनुसार प्रस्तावित आईपीओबाट प्राप्त पूँजी उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि तथा व्यावसायिक पूर्वाधार विकासमा परिचालन गरिनेछ । उत्पादनदेखि प्रशोधन, प्याकेजिङ, कोल्ड स्टोरेज र बजारीकरणसम्मको प्रक्रियालाई एकीकृत प्रणालीमा जोड्ने कम्पनीको दीर्घकालीन योजना छ ।

‘फार्म टु मार्केट’ अवधारणाअन्तर्गत आफ्नै फार्ममा माछा उत्पादन, माछाको दाना उत्पादन, आधुनिक प्रशोधन तथा फिलेटिङ, कोल्ड स्टोरेज, प्याकेजिङ र बजार व्यवस्थापनलाई एउटै व्यावसायिक चक्रमा विकास गर्ने लक्ष्य कम्पनीले लिएको छ । यसबाट कृषि तथा एक्वाकल्चर क्षेत्रमा मूल्य अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमा योगदान पुर्‍याउने कम्पनीको अपेक्षा छ।

यसैबीच, एनआईसी एशिया क्यापिटलले आफ्नो ‘प्राइभेट टु आईपीओ’ सेवाअन्तर्गत कम्पनी स्थापनादेखि आईपीओ निष्कासनको चरणसम्म आवश्यक संस्थागत परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । उक्त सेवामार्फत निजी कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गर्ने, आवश्यक संस्थागत प्रक्रिया पूरा गर्ने तथा साधारण शेयर निष्कासनसम्मका कार्यमा परामर्श प्रदान गरिने क्यापिटलले जनाएको छ।