काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारासहित निर्वाचित भएको सरकारले ठूला भ्रष्टाचारका प्रकरणमा पछि हट्नु विडम्बनापूर्ण भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले वर्तमान न्यायिक प्रणाली र कानुन कार्यान्वयनको शैलीमाथि प्रश्न उठाएका छन् । उनले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहको तस्बिरसहित आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
लोकतान्त्रिक व्यवस्थामा सबै काम विधिसम्मत हुनुपर्ने भए पनि विद्यमान प्रणालीले पहुँचविहीनलाई मात्र कारबाहीको दायरामा ल्याउने र पहुँचवालालाई उन्मुक्ति दिने अवस्था देखिएको उनको तर्क छ ।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, “झुत्रेझाम्रे भोको मान्छेले हतारमा प्रमाण छोडेर बारीको काँक्रो चोर्दा पक्रिएर दण्डित हुने, अनि पेट भरिएका सुकिलामुकिलाले सबुत नछोडी भित्ता फोरेर हिरा चोर्दा प्रमाण नपुगेर निर्दोष ठहर्ने हाम्रो यस्तो न्यायिक प्रणालीलाई के गर्ने ?”
देशलाई निरन्तर रूपमा लुट्दै आएका र भविष्यमा पनि लुटिरहने विभिन्न भेषका गिरोहलाई अन्त्य नगरेसम्म सुशासन र समृद्धिको सही सुरुवात हुन नसक्ने उनले दाबी गरेका छन् ।
भट्टराईले ठूला भ्रष्टाचारका प्रकरणमा राज्यका निकायले प्रभावकारी रूपमा कानुन कार्यान्वयन गर्नुपर्ने आशयसमेत व्यक्त गरेका छन् ।