काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारमा बस्दैछ । बैठकमा विभिन्न विधेयक तथा समितिका प्रतिवेदनमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् ।
त्यस्तै, कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेर्पाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ बैठकमा प्रस्तुत गर्नेछन् ।
यसैगरी, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।
यसैबीच, आज अर्थसमिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकसमेत बस्ने कार्यक्रम रहेको छ ।