बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बागलुङमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १२ पुग्यो, एक बेपत्ता

मंगलबार, असोज १३ २०८३

बागलुङ । बागलुङमा पछिल्लो तीन दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । घटनामा एक जना अझै बेपत्ता छन् ।

जिल्लाका विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन् ।

यसअघि शनिबार पनि ताराखोला गाउँपालिकामा बाढीपहिरोमा परी एक जनाको मृत्यु भएको थियो । पछिल्लो घटनासँगै ताराखोलामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

त्यस्तै, आइतबार तमानखोला गाउँपालिकामा बाढीपहिरोमा परी चार जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता छन् । निसीखोला गाउँपालिकामा पनि पहिरोमा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोको जोखिम बढेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई निरन्तरता दिँदै बेपत्ता व्यक्तिको खोजी गरिरहेका छन् ।