बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बिना कारण पक्राउ गर्ने क्रम जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

सोमबार, असोज १२ २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट व्यक्ति (भीआईपी) लाई बिना कारण पक्राउ गर्ने क्रम जारी राखिए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने टिप्पणी गरेका छन् ।

सोमबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकारले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत राखेको भए त्यो सरकारकै लागि घातक हुने बताएका हुन् ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘सुरक्षा थ्रेट’ का नाममा नियन्त्रणमा लिइएको घटनातर्फ संकेत गर्दै उनले यस्ता घटना दोहोरिन नदिन सरकारलाई आग्रह गरे । सुरक्षा चुनौती वास्तविक भएको भए सम्बन्धित व्यक्तिलाई पक्राउ गर्नुको सट्टा घरमै सुरक्षाकर्मी बढाउनुपर्ने उनको तर्क थियो ।

प्रचण्डले भने, ‘सुरक्षा थ्रेट हो भने सुरक्षाकर्मी बढाइदिनुपर्‍यो नि ।’

उनले घटनाको वास्तविक तथ्य विस्तारै बाहिर आउने भन्दै सरकारले एक जनामाथि कारबाही गरेर अरूलाई त्रसित पार्ने उद्देश्य राखेको भए त्यसको परिणाम सरकारकै लागि प्रतिकूल हुन सक्ने बताए ।

यसैबीच, संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधनबारे पनि प्रचण्डले प्रतिक्रिया दिएका छन् । उनले प्रधानमन्त्रीले अहिलेको परिस्थितिमा बोल्नुपर्ने विषयकै लाइनमा सम्बोधन गरेको र त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए ।

जलवायु संकट, नेपालले भोगिरहेको असर तथा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकताबारे प्रधानमन्त्री शाहले महासभामा धारणा राखेका थिए ।

महासभाको सम्बोधनलाई लिएर अनावश्यक रूपमा बढाइचढाइ गर्न आवश्यक नरहेको भन्दै प्रचण्डले प्रधानमन्त्री बालेनको ठाउँमा अरू जो भए पनि त्यही विषय बोल्ने धारणा राखेका छन् ।