बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सरकारले ‘राज्य आतंक’ मच्चाएको एमालेको आरोप

सोमबार, असोज १२ २०८३

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा बैठकमा आपत्ति जनाएका छन्। सोमबारको बैठकमा बोल्दै सांसदहरूले ‘सुरक्षा थ्रेट’को कारण देखाएर जबरालाई नियन्त्रणमा लिइएको भन्दै सरकारसँग घटनाको स्पष्ट आधार मागेका हुन्।

एमाले सांसद ऐन महरले जबरालाई मध्यरातमा पक्राउ गरिएको घटनालाई लिएर सरकारको आलोचना गरे। उनले पक्राउ पुर्जी र अभियोगबिना जबरालाई नियन्त्रणमा लिएको भन्दै घटनालाई ‘राज्य आतंक’को संज्ञा दिए। महरले यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत रातको समयमा पक्राउ गर्न खोजिएको प्रसंग उल्लेख गरे।

कानुन उल्लंघन गर्ने जोकोहीमाथि तथ्य र प्रमाणका आधारमा कारबाही गर्न सकिने भए पनि सरकारले पूर्वाग्रह वा विरोधका आधारमा नागरिकलाई तर्साउने र धम्क्याउने काम गर्न नहुने महरको भनाइ थियो।

महरले सरकार जेन्जीको समर्थनमा सत्तामा पुगेको दाबी गर्दै अहिले सुरक्षा थ्रेटको नाममा तिनै समूहलाई बदनाम गर्न खोजिएको आरोप लगाए। उनले जबराविरुद्ध सुरक्षा खतरा उत्पन्न भएको भए त्यसका लागि जिम्मेवार व्यक्तिहरू पहिचान गरी सार्वजनिक गर्न र कानुनी कारबाही गर्न माग गरे।

त्यस्तै, नेकपाका सांसद युवराज दुलालले विपद्का बेला जनतालाई राहत र उद्धार दिनुपर्ने सरकारको प्राथमिकता अन्यत्र मोडिएको आरोप लगाए।

उनले पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ पुर्जी र स्पष्ट कारणबिना मध्यरातमा नियन्त्रणमा लिएको भन्दै घटनालाई सरकारको ‘गैरकानुनी राज्य’को दृष्टान्तका रूपमा प्रस्तुत गरे। दुलालले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै घटनाबारे संसद् र जनतालाई स्पष्ट जवाफ दिनुपर्ने माग गरे।