काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले मध्यरातमा नियन्त्रणमा लिएको विषय सोमबार प्रतिनिधिसभाको बैठकमा उठेको छ। प्रतिपक्षी दल नेकपाका प्रमुख सचेतक युवराज दुलालले घटनाबारे सरकारसँग स्पष्ट जवाफ मागेका छन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै दुलालले जबरालाई पक्राउ पुर्जी र स्पष्ट कारणबिना नियन्त्रणमा लिइएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। उनले सरकार कानुनी प्रक्रियाअनुसार चलेको छ कि गैरकानुनी बाटोमा भन्ने विषयमा सरकारले जवाफ दिनुपर्ने बताए।
प्रहरीले भने जबरालाई ‘सुरक्षा थ्रेट’का कारण नियन्त्रणमा लिएर कार्यालयमा ल्याइएको बताउँदै आएको छ। करिब १२ घण्टापछि उनलाई परिवारको जिम्मा लगाइएको थियो।
दुलालले सुरक्षा खतरा रहेको व्यक्तिलाई नियन्त्रणमा लिने कि सुरक्षा प्रदान गर्ने भन्ने प्रश्नसमेत उठाए। उनले जबरालाई करिब १२ घण्टा नियन्त्रणमा राखेपछि सुरक्षा खतरा कसरी समाप्त भयो भन्ने विषयमा पनि सरकारले स्पष्ट पार्नुपर्ने बताए।
उनले सरकारलाई प्राप्त जनादेशलाई स्थायी अधिकारका रूपमा प्रयोग गर्न नमिल्ने भन्दै देशलाई संविधान र कानुनअनुसार सञ्चालन गर्न आग्रह गरे।
दुलालले विगतमा पनि मध्यरातमा पूर्वप्रधानमन्त्रीलाई निवासबाट नियन्त्रणमा लिइएको प्रसंग उल्लेख गर्दै त्यसपछि अदालतबाट रिहा गरिएको बताए। अहिले पूर्वप्रधानन्यायाधीश जबरालाई पनि मध्यरातमा नियन्त्रणमा लिएर केही घण्टामै छाडिएको भन्दै उनले घटनाको औचित्यमाथि प्रश्न उठाए।
सरकारको कार्यशैलीप्रति व्यंग्य गर्दै उनले मध्यरातमा नियन्त्रणमा लिने र मध्याह्नमा छाड्ने घटनाको कारणबारे समेत जनतालाई जवाफ दिनुपर्ने बताए।
दुलालले देशलाई आफूखुसी ढंगले सञ्चालन गर्न नमिल्ने भन्दै सरकारलाई संवैधानिक र कानुनी प्रक्रियालाई गम्भीरतापूर्वक पालना गर्न आग्रह गरे।