बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

अविरल वर्षाले सात राष्ट्रिय राजमार्ग अवरुद्ध, पृथ्वीराजमार्ग खुलाउने प्रयास जारी

सोमबार, असोज १२ २०८३

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरो र बाढीका कारण पृथ्वीराजमार्गसहित काठमाडौँ उपत्यका जोड्ने सात राष्ट्रिय राजमार्गमा यातायात प्रभावित भएको छ। विभिन्न स्थानमा पहिरो खस्नुका साथै बाढीले सडक कटान र डाइभर्सन बगाएपछि यातायात सञ्चालनमा समस्या भएको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार धादिङको गजुरी गाउँपालिका–२ चालिसे र गजुरी–५ बाङ्गेमोडमा खसेको पहिरो हटाउने काम भइरहेको छ। ठूलो परिमाणमा लेदोसहित पहिरो खसेकाले सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ।

पृथ्वीराजमार्गअन्तर्गत कृष्णभिरमा खसेको पहिरो हटाएपछि भने एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था बनेको छ। तर चालिसे र बाङ्गेमोडमा पहिरो पूर्ण रूपमा हटाउन बाँकी रहेकाले उक्त सडकखण्डमा नियमित यातायात सञ्चालन हुन सकेको छैन।

पहिरो हटाउने क्रममा पुनः वर्षा भए माथिबाट थप पहिरो खस्ने जोखिम रहेकाले यातायात सञ्चालनमा थप समस्या आउन सक्ने ट्राफिक प्रहरीले जनाएको छ।

बीपी र कान्तिलोकपथमा पनि यातायात प्रभावित

वर्षाका कारण पृथ्वीराजमार्ग, बीपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरो तथा बाढीका कारण अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी काम भइरहेको छ।

कान्तिलोकपथअन्तर्गत ठिङ्गन तथा फर्पिङ–फाखेल खण्डमा पहिरो खसेपछि हटाउने काम जारी छ।

बीपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा यातायात सेवा अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ।

दक्षिणकाली–सिस्नेरीमा साना सवारी सञ्चालन

काठमाडौँको दक्षिणकाली–सिस्नेरी सडकखण्डमा भने साना सवारीसाधन तथा टाटा सुमोलगायतका गाडी सञ्चालनमा छन्। ठूला सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो।

दक्षिणकाली–सिस्नेरी सडकखण्ड र त्रिभुवन राजपथमा सवारीसाधनलाई निश्चित समयतालिका बनाएर आलोपालो सञ्चालन गर्ने व्यवस्था गरिएको छ। सडकको अवस्था, सवारी चाप र मौसमअनुसार आवश्यक व्यवस्थापन भइरहेको प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण उपत्यका प्रवेश गर्ने र बाहिरिने प्रमुख सडकमार्ग प्रभावित भएपछि यात्रु समस्यामा परेका छन्। विशेषगरी पृथ्वीराजमार्ग र बीपी राजमार्गमा पहिरो तथा बाढीका कारण लामो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन्।

ट्राफिक प्रहरीले राजमार्गको अवस्था सामान्य नभएसम्म अनावश्यक यात्रा नगर्न, अवरुद्ध सडक जबर्जस्ती पार गर्ने प्रयास नगर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। साथै, यात्रामा निस्कनुअघि सडकको अवस्था बुझेर ट्राफिक प्रहरी तथा सम्बन्धित निकायबाट प्राप्त सूचनाअनुसार मात्र यात्रा गर्न अनुरोध गरिएको छ।