बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता

सोमबार, असोज १२ २०८३

बागलुङ । अविरल वर्षापछि आएको पहिरोमा परी बागलुङमा पछिल्लो दुई दिनमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । जिल्लामा शनिबार एक जना र आइतबार नौ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणिन्द्र प्रसाईँका अनुसार आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । त्यस्तै, निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ ।

तमानखोला गाउँपालिका–३ धर्नासुकमा पहिरोले घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ । सोही क्षेत्रमा पहिरोले आठ वटा घरसमेत बगाएको प्रहरीले जनाएको छ ।

तमानखोला–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । हस्तवीरकी श्रीमती भने पहिरोमा परी बेपत्ता भएकी छन् ।

यस्तै, निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका १३ वर्षीय छोरा मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक रहेका छन् ।

निसीखोला गाउँपालिका–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको पनि मृत्यु भएको छ ।

यसअघि शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार पूर्वसूचना प्राप्त भएकाले थप मानवीय क्षति हुनबाट जोगिएको हो । पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षा अधिकारीको टोली परिचालन गरिएको छ ।