काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीबारे सरकारको आधिकारिक धारणा माग गरेको छ। कांग्रेसले जबरालाई पक्राउ गर्नुको कानुनी आधार र औचित्य सार्वजनिक गर्न समेत सरकारसँग माग गरेको हो।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै पार्टी संवैधानिक सर्वोच्चता, कानुनी शासन, नागरिक अधिकार तथा सबैका लागि कानूनको समान प्रयोगमा विश्वास राख्ने बताएका छन्।
जबराको गिरफ्तारीबारे सरकारी अधिकारीहरूबाटै परस्पर विरोधी धारणा सार्वजनिक हुनु गम्भीर चिन्ताको विषय भएको कांग्रेसले जनाएको छ।
‘पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरको गिरफ्तारीका सम्बन्धमा सरकारी अधिकारीहरूबाटै परस्पर विरोधी धारणा सार्वजनिक हुनु गम्भीर चिन्ताको विषय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘गिरफ्तारी कानूनसम्मत, आवश्यक र उचित थियो भने सरकारले त्यसको स्पष्ट कानुनी आधार र औचित्य सार्वजनिक गर्न सक्नुपर्छ।’
कांग्रेसले कुनै विशेष सुरक्षा चुनौती, अनुसन्धानको आवश्यकता वा अन्य असाधारण परिस्थितिका कारण जबरामाथि यस्तो कदम चालिएको हो भने त्यसको विश्वसनीय आधार राज्यले स्पष्ट गर्नुपर्ने बताएको छ।
कांग्रेस अपराध अनुसन्धान र कानून कार्यान्वयनको विपक्षमा नरहेको पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ। तर कानून कार्यान्वयनका नाममा अस्पष्ट र अन्योलपूर्ण कानुनी प्रक्रिया देखिएको अवस्थालाई स्वीकार गर्न नसकिने कांग्रेसको भनाइ छ।
प्रवक्ता चालिसेले कानूनको शासन भन्नाले राज्यले कानून प्रयोग गर्नु मात्र नभई राज्यका सबै निकाय स्वयं संविधान र कानूनको सीमाभित्र रहनुपर्ने बताएका छन्।
‘कसैले कानूनको उल्लंघन गरेको छ भने निष्पक्ष अनुसन्धान होस्, प्रमाणका आधारमा कारबाही होस् र दोषी ठहरिए कानूनबमोजिम सजाय होस्,’ चालिसेले भनेका छन्, ‘तर गिरफ्तारी स्वयं दोषको प्रमाण हुँदैन।’
पूर्वप्रधानन्यायाधीश जबरालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो। प्रहरीले हालसम्म उनीमाथि लगाइएको कसुर र पक्राउको विस्तृत कानुनी आधार सार्वजनिक गरिसकेको छैन।