काठमाडौं । भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्र कमजोर बन्दै गएसँगै नेपालमा वर्षाको गतिविधि पनि क्रमशः घट्दै जाने मौसमविद्हरूले बताएका छन्। यद्यपि, आज दिउँसो देशका विभिन्न भूभागमा वर्षा हुने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र हाल नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभागतर्फ रहेकाले ती क्षेत्रमा वर्षाको गतिविधि बढी केन्द्रित भएको हो।
न्यूनचापीय प्रणालीसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ प्रवेश गरेकाले गएराति मध्य भूभागका विभिन्न स्थानमा उल्लेख्य वर्षा भएको मौसमविद्हरूले बताएका छन्। अहिले न्यूनचापीय प्रणाली कमजोर भइसकेकाले यसको प्रभाव पनि क्रमशः घटिरहेको छ।
न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले अहिले मधेश, बागमती र कोशी प्रदेशको पश्चिमी भूभागमा बादल लागेको छ। ती क्षेत्रमा समेत वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
पश्चिमी भूभागका अधिकांश स्थानमा बादल लागे पनि तत्काल ठूलो वर्षा भइरहेको अवस्था नरहेको मौसमविद्हरूले बताएका छन्।
आज दिउँसो सुदूरपश्चिम प्रदेशका हिमाल, पहाड र तराईका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पूर्वी भूभागमा भने तुलनात्मक रूपमा कम वर्षा हुने अनुमान गरिएको छ।
कर्णालीदेखि पूर्वतर्फ मधेश प्रदेशसम्मका विभिन्न भूभागमा वर्षाको क्रम जारी रहने भए पनि अधिकांश स्थानमा भारी वर्षाको सम्भावना नरहेको जनाइएको छ। यद्यपि, एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना भने कायम छ।
मौसमविद्हरूका अनुसार मधेश प्रदेश, बागमतीको तल्लो भूभाग तथा चितवन आसपास, गण्डकीको तल्लो तथा पहाडी भूभाग, हिमाली क्षेत्र, लुम्बिनीको दक्षिणी भूभाग तथा सुदूरपश्चिमका हिमाल, पहाड र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ।
पछिल्ला दिनमा लगातारको वर्षाका कारण विभिन्न नदी तथा खोलामा बाढी र पहिरोको जोखिम बढेकाले भारी वर्षा हुन सक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
यद्यपि, आज राति भने भारी वर्षाको सम्भावना नरहेको र मौसममा क्रमशः सुधार आउने मौसमविद्हरूले बताएका छन्।
वर्षाको गतिविधि घट्दै गए पनि नदी तथा खोलाको बहाव, पहिरोको जोखिम र स्थानीय मौसमको अवस्था हेरेर यात्रा तथा दैनिक गतिविधि सञ्चालन गर्न मौसमविद्हरूले आग्रह गरेका छन्।