बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

 जबराको पक्राउप्रति शंकर पोखरेलको आपत्ति, भने– ‘कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन’

आइतबार, असोज ११ २०८३

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यराति महाराजगञ्जस्थित निवासबाट पक्राउ गरिएको विषयमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन्।

पोखरेलले जबरालाई ‘बिना कुनै प्रमाण’ पक्राउ गरिएको दाबी गर्दै यो घटना नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले यस्तो कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत भएको बताएका हुन्।

उनले गलत र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु भएको टिप्पणी गर्दै सबैलाई यस्ता गतिविधिविरुद्ध खबरदारी गर्न आग्रह गरेका छन्।

पूर्वप्रधानन्यायाधीश जबरालाई आइतबार मध्यराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो।

यद्यपि, प्रहरीले हालसम्म जबरालाई कुन कसुरमा पक्राउ गरिएको हो तथा पक्राउका क्रममा के-कस्तो प्रमाणका आधारमा कारबाही अघि बढाइएको हो भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन।