काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेपछि नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रश्न उठाएका छन्।
बास्कोटाले सामाजिक सञ्जालमार्फत जबरालाई पक्राउ पुर्जीबिना गिरफ्तार गरिएको हो कि होइन भन्दै प्रश्न गरेका हुन्।
उनले लेखेका छन्, ‘पक्राउ पुर्जीबिना त्यो पनि पूर्वप्रधानन्यायाधीश गिरफ्तार ???’
बास्कोटाले जबरालाई ‘जेनजी खतरा’ रहेको भए सुरक्षा दिनुपर्ने भन्दै पक्राउको विषयलाई लिएर थप प्रश्न गरेका छन्। उनले यो घटनालाई सत्तारूढ दलभित्र चलिरहेको कुनै राजनीतिक समीकरणसँग जोडेर प्रश्नसमेत गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कतै सत्तारुढ दलभित्रै पाकिरहेको खिचडीको खेल त हैन? जेनजी खतरा भए त सुरक्षा पो दिने होला। पशुपति जाने!’
पूर्वप्रधानन्यायाधीश जबरा आइतबार काठमाडौंको महाराजगञ्जस्थित निवासबाट पक्राउ परेका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ।