बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

तिनाउको बाढीले बुटवलमा ६ घर बगायो, २०० परिवार सुरक्षित स्थानमा सारिए

आइतबार, असोज ११ २०८३

बुटवल । लगातारको वर्षासँगै तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार शनिबार राति आएको बाढीले दुई वटा पक्की र चार वटा कच्ची घर बगाएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले तिनाउ नदीमा आएको बाढीले टप मझुवा क्षेत्रका ६ वटा घरमा क्षति पुर्‍याएको जानकारी दिए।

लगातारको वर्षाका कारण तिनाउ नदीसँगै आसपासका खोलामा समेत जलस्तर बढेपछि बुटवलका तटीय क्षेत्रमा बाढीको जोखिम बढेको थियो।

जोखिममा रहेका तटीय क्षेत्रका करिब २०० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

बाढीका कारण थप क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै तटीय क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।