जुम्लामा लगातार वर्षासँगै बाक्लो हिमपात भएपछि सम्पर्कविहीन भएका ८ गोठाला सम्पर्कमा आएका छन्। करिब ५०० भन्दा बढी भेडाहरू सम्पर्कविहीन भएको गोठालाहरूले बताएका छन्। चन्दननाथ नगरपालिका–८ बाट भेडा लिएर गिडीदह आसपासको गैरीगुम पाटन पुगेका उनीहरूले शुक्रबार अपराह्न आफन्तलाई फोन गरी आफूहरू धतौरामा सुरक्षित रहेको जानकारी दिएका हुन्।
बिहीबार रातिदेखि सम्पर्कविहीन उनीहरूसँग रहेका करिब पाँच सय भेडाको अवस्था भने अझै अज्ञात छ।
भेडापालक बिर्ख धरालाले शुक्रबार अपराह्न ४ बजे दाजु भैरव धरालालाई फोन गरेका थिए। उनका अनुसार बिर्खले आफूहरू धतौरामा सुरक्षित रहेको बताए पनि भेडाहरू कहाँ छन् भन्ने जानकारी नभएको बताएका थिए।
गोठालाहरूका अनुसार पाटन क्षेत्रमा लगातार हिमपात भइरहेको छ। उनीहरू सबै जना एउटै धतौरामा आश्रय लिएर बसेका छन्। चिसो बढ्दै गएको र थप हिमपात भए जोखिम बढ्न सक्ने भन्दै उनीहरूले आफन्तमार्फत तत्काल उद्धारको आग्रह गरेका छन्।
गोठालाहरू सम्पर्कमा आएपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले उद्धार टोली परिचालन गरेको छ। प्रहरी सहायक निरीक्षक कालीबहादुर महतको नेतृत्वमा सात सुरक्षाकर्मी र एक नगर प्रहरी गरी आठ जनाको टोली पाटनतर्फ गएको छ। गोठालाका आफन्त अंकुश रावत र अमृत बोहोरा पनि उद्धार टोलीसँगै छन्।
टोली फुलचौंल्या हुँदै पाटनतर्फ अघि बढेको छ। तर बाक्लो हिमपात र कठिन भूगोलका कारण शुक्रबार नै गोठालाहरू भएको स्थानमा पुग्न सम्भव नरहेको तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अमरबहादुर रोकायाले बताएका छन्।
उनका अनुसार उद्धार टोली शुक्रबार फुलचौंल्या धर्मशालामा बस्ने र शनिबार बिहान ९ बजेसम्म डण्डमाकाँध तथा गैरीगुम पुग्ने अनुमान गरिएको छ।
सम्पर्कविहीन हुनेमा लालबहादुर रावत, सुरतबहादुर रावत, अबिराज बोहोरा, झुसे भण्डारी, दानबहादुर रोकाया र बिर्ख धरालासहित ८ जना थिए। उनीहरू गत जेठमा भेडा लिएर पाटन पुगेका थिए।
एक सातापछि भेडासहित घर फर्कने तयारीमा रहेका उनीहरू मौसम बिग्रिएपछि पाटनमै रोकिएका थिए। गोठालासँग सम्पर्क स्थापित भए पनि उनीहरूसँग रहेका करिब पाँच सय भेडाको अवस्थाबारे जानकारी नहुँदा आफन्तमा चिन्ता कायमै छ।