बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सप्तकोशीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ ढोका खोलिए

शनिबार, असोज १० २०८३

 

काठमाडौं । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् ।

शनिबार बिहान ६ बजेपछिको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पुगेको छ । जलसतह निरन्तर बढेपछि ब्यारेजका ४३ वटा ढोका खोलिएको हो ।

यसअघि शुक्रबार बिहान १० बजे पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९८ हजार २ सय २० क्युसेक हुँदा २५ वटा ढोका खोलिएका थिए । त्यसपछि दिउँसो १ बजे बहाव २ लाख २९ हजार ९ सय ६० क्युसेक पुगेपछि ३० वटा ढोका खोलिएको थियो ।

त्यस्तै, दिउँसो २ बजे पानीको बहाव २ लाख ४० हजार ५ सय ५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको थियो ।

कोशी ब्यारेजमा पानीको बहाव बढेपछि जोखिमको संकेतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ । जलसतह अझै बढिरहेको भन्दै सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ ।

तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

वर्षा जारी रहेकाले नदीमा पानीको बहाव थप बढ्न सक्ने जनाइएको छ ।

कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहर गरी कुल ५६ वटा ढोका रहेका छन् ।